काठमाडौँ । इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा पछिल्ला करिब दुई महिनाको अवधिमा ड्रोन तथा क्षेप्यास्त्र प्रयोग गरी सयौँ आक्रमण भएको स्थानीय प्रशासनले जनाएको छ। फेब्रुअरी २८ देखि अप्रिल २० सम्म भएका ती घटनामा सर्वसाधारणको ज्यान जानुका साथै ठूलो संख्यामा मानिस घाइते भएका छन्।
कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागद्वारा जारी विवरणअनुसार उक्त अवधिमा कुल ८०९ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये अधिकांश आक्रमण नागरिक बसोबास तथा सर्वसाधारणसँग सम्बन्धित क्षेत्रलाई केन्द्रित गरेर गरिएको उल्लेख गरिएको छ। यसअघि उक्त क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वप्रति तटस्थ रहने नीति सार्वजनिक गरेको थियो।
सरकारी विवरणमा आक्रमणका कारण मानवीय तथा भौतिक दुवै क्षेत्रमा उल्लेखनीय क्षति पुगेको जनाइएको छ। निजी क्षेत्र र सर्वसाधारणले सबैभन्दा बढी असर व्यहोरेको उल्लेख छ।
सबैभन्दा बढी प्रभावित एरबिल प्रान्त रहेको बताइएको छ। त्यहाँ मात्र ४७७ वटा आक्रमण भएका छन्, जसमा ४१९ ड्रोनमार्फत र ५८ क्षेप्यास्त्र प्रयोग गरी गरिएका आक्रमण समावेश छन्। एरबिल क्षेत्रमा मात्रै १० जनाको मृत्यु भएको तथा ८३ जना घाइते भएको जनाइएको छ।
समग्र घटनामा २० सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।
कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न आधारहीन कारण देखाएर नागरिक क्षेत्रमा आक्रमण गरिएको आरोप लगाएको छ। फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली कारबाहीपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला यी आक्रमणहरू भएका बताइएको छ। त्यसपछिको प्रतिक्रिया स्वरूप इरान तथा उसका सहयोगी समूहहरूले अमेरिकी र इजरायली हितलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा आक्रमण तीव्र पारेका छन्।







