काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले देशमा लामो समयदेखि देखिएका प्रशासनिक, आर्थिक तथा नीतिगत अव्यवस्थालाई व्यवस्थित दिशामा लैजान वर्तमान प्रयास केन्द्रित रहेको बताएका छन्।
विगत करिब ३५ वर्षमा विकसित विभिन्न कमजोरी सुधार गर्ने उद्देश्यसहित आफ्नो दल र सरकार अघि बढिरहेको उनले उल्लेख गरे।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको आठौँ वार्षिक साधारण सभामा बोल्दै सांसद शाक्यले अघिल्ला राजनीतिक व्यवस्थापनका क्रममा देखिएका समस्यालाई समाधान गर्ने जिम्मेवारी वर्तमान नेतृत्वसमक्ष आएको बताए।
उनले सरकार र संसद्ले सुशासन स्थापना, नीतिगत सुधार तथा कार्यान्वयन प्रभावकारिताका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको धारणा राखे।
बजार व्यवस्थापनमा पारदर्शिता अभाव रहेको सन्दर्भ उल्लेख गर्दै उनले अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणाली कार्यान्वयनलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे। उपभोक्ता हित संरक्षण, मूल्य नियन्त्रण तथा व्यापारिक अनुशासन कायम गर्न यस्तो व्यवस्था उपयोगी हुने उनको भनाइ थियो।
उनले विगतदेखि कायम रहेको बजार अपारदर्शिता समेत एक प्रकारको अव्यवस्था भएको उल्लेख गर्दै सुधार प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। नीतिगत परिवर्तनका क्रममा अनावश्यक त्रास सिर्जना गर्न नहुने उनको धारणा थियो।
सांसद शाक्यले साना तथा मझौला व्यवसायी विस्थापित हुने आशंका तथ्यमा आधारित नभएको जिकिर गरे। सरकार अध्ययन, तथ्यांक, सरोकारवालाको सुझाव र व्यावहारिक आवश्यकताका आधारमा मात्र नीति निर्माण प्रक्रियामा अघि बढ्ने उनले विश्वास व्यक्त गरे।
उनले नेपाल विकासशील राष्ट्रतर्फ उन्मुख रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको स्तर उकास्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताए।







