काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक जग्गा तथा नदी किनार क्षेत्रमा बनेका अतिक्रमित बस्ती हटाउने अभियान निरन्तर अघि बढाइएको छ। काठमाडौँ महानगर प्रहरी बलका अनुसार हालसम्म तीन वटा क्षेत्रमा कुल ७ सय ८१ घरटहरा हटाइएको छ।
महानगर प्रहरी बलका अनुसार वडा नं. ११ अन्तर्गत थापाथलीस्थित वाग्मती नदी किनार क्षेत्रमा १ सय ४३, वडा नं. ९ को गैरीगाउँ-सिनामंगल क्षेत्रमा १ सय ६२ तथा वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा ४ सय ७६ संरचना हटाइएको हो।
सरकारी निर्देशन अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभर प्रभावित परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण तथा सरसामान व्यवस्थापनमा सहयोग गरेको थियो। त्यसपछि मात्र आवश्यक उपकरण प्रयोग गरी संरचना हटाउने कार्य अघि बढाइएको जनाइएको छ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको विवरणअनुसार अब थप ९० वटा घरटहरा हटाउन बाँकी रहेका छन्। जसअन्तर्गत गोठाटार क्षेत्रमा ७७ र मनोहरा टोलमा १३ वटा संरचना हटाउनुपर्ने सूचीमा छन्।
सरकारले सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनार क्षेत्र व्यवस्थापन, सहरी सौन्दर्यीकरण तथा वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिरहेको जनाएको छ। दीर्घकालीन सहरी व्यवस्थापनको लक्ष्यसहित यस्तो कदम चालिएको बताइएको छ।
उता, बस्ती हटाइएका परिवारको पुनर्स्थापना, वैकल्पिक बसोबास तथा सामाजिक व्यवस्थापनका विषयमा विभिन्न पक्षबाट चासो व्यक्त हुन थालेको छ। सरोकारवाला निकायहरूले प्रभावित नागरिकका लागि योजनाबद्ध पुनर्वास व्यवस्था आवश्यक रहेको औँल्याएका छन्।








बालाजु विष्णुमति कोरिडर मा कअिले चल्छ नि डोजर