काठमाडौँ । पश्चिम नवलपरासी जिल्लाको दीर्घकालीन तथा समग्र विकासलाई केन्द्रमा राख्दै संघीय सांसदहरूले दलगत स्वार्थभन्दा माथि उठेर संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्लाका जनप्रतिनिधिहरूले विकास निर्माणमा समन्वय र सहकार्यलाई प्राथमिकता दिने साझा धारणा सार्वजनिक गरेका हुन्।
बुधबार सुनवल नगरपालिकाले आयोजना गरेको ‘समन्वय, सहकार्य र विकासका लागि साझा प्रतिबद्धता’ विषयक विशेष कार्यक्रममा सहभागी सांसदहरूले जिल्लाका ठूला आयोजना तथा अलपत्र परेका पूर्वाधार परियोजनाहरू सम्पन्न गर्न एकीकृत रूपमा पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै संघीय सांसद विक्रम खनालले महत्त्वपूर्ण विकास आयोजना अघि बढाउन र रोकिएका संरचनात्मक कामहरू पूरा गर्न सबै सांसदहरू एक भएर केन्द्र सरकारसँग सामूहिक रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी, सांसद नरेन्द्रकुमार गुप्ताले हालसम्म विकास निर्माणमा साझा रणनीतिक अभाव देखिएको उल्लेख गर्दै अब स्पष्ट योजना र साझा एजेन्डाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सांसद रिंगला यादवले शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी उपलब्धिका लागि सामूहिक प्रयास अनिवार्य भएको बताउँदै जिल्लाको समृद्धिका लागि सबै जनप्रतिनिधि एकै स्थानमा उभिनुपर्ने धारणा राखिन्।
कार्यक्रममा उपस्थित सांसदहरूले अबदेखि जिल्लाका अधुरा परियोजनाहरू व्यक्तिगत वा अलग(अलग पहलभन्दा पनि संयुक्त दबाब र समन्वयमार्फत अघि बढाइने बताएका छन्।
सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले नगर क्षेत्रका विकास गतिविधि र चुनौतीबारे विस्तृत विवरण प्रस्तुत गर्दै संघीय सहयोगको आवश्यकता औँल्याइन्। उनले सीमित स्थानीय स्रोतका कारण संघीय तहबाट थप सहकार्य अपेक्षित रहेको उल्लेख गर्दै विकास प्रक्रियालाई राजनीतिक प्रभावबाट टाढा राख्न आग्रह गरिन्।
त्यस्तै, उपप्रमुख सूर्यप्रसाद दुवेले जिल्लाका वर्तमान विकास अवस्थासँगै देखिएका समस्या र सुधारका सम्भावित उपायबारे जानकारी प्रस्तुत गरेका थिए।







