काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका पछिल्ला अध्यादेशहरू प्रशासनिक प्रक्रियालाई छरितो र प्रभावकारी बनाउन लक्षित रहेको स्पष्ट पारेको छ।
पार्टीले ती अध्यादेश कुनै व्यक्ति वा राजनीतिक दललाई विशेष लाभ पुर्याउने उद्देश्यले नभएको दाबी गरेको छ।
सिंहदरबारमा सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरूको अनौपचारिक छलफलपछि यस्तो निष्कर्ष निकालिएको जानकारी महामन्त्री तथा प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले दिएका छन्।
उनका अनुसार आम नागरिकले दैनिक जीवनमा सामना गर्नुपर्ने झन्झटिला प्रक्रियालाई सहज बनाउन सरकारले अध्यादेशमार्फत सुधारात्मक कदम अघि बढाएको हो। उनले विद्यमान कानुनी प्रक्रिया अत्यन्तै लामो र जटिल भएकाले साना–साना काम सम्पन्न गर्न पनि महिनौँ लाग्ने अवस्था रहेको बताए।
बुर्लाकोटीले उदाहरण दिँदै सडकबीचको रुख हटाउने जस्तो सामान्य विषयमा समेत प्रक्रिया पूरा गर्न ५–६ महिना लाग्ने अवस्था रहेको उल्लेख गरे। यस्ता व्यवहारिक समस्यालाई सम्बोधन गर्दै सेवा प्रवाह छिटो बनाउन अध्यादेश आवश्यक देखिएको उनको भनाइ थियो।
पार्टीका अनुसार सरकारको उद्देश्य कुनै व्यक्ति वा दललाई फाइदा पुर्याउनु नभई प्रशासनिक प्रणालीमा रहेका जटिलता घटाएर जनसेवालाई प्रभावकारी बनाउनु हो।
रास्वपाले झन्झटिला र लामो प्रक्रिया हटाएर सेवा प्रवाहलाई सहज, छरितो र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यादेशलाई त्यही दिशातर्फको कदमका रूपमा व्याख्या गरेको छ।







