काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्र राईले देशका विभिन्न क्षेत्रमा बढ्दो बाँदर समस्याको समाधानका लागि सरकारले शीघ्र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले जनस्तरमा अहिले बाँदरको समस्या गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गरे। कृषिजन्य उत्पादनमा क्षति, जनजीवनमा असर तथा स्थानीय स्तरमा बढ्दो असहज अवस्थालाई ध्यानमा राखेर सरकारले आवश्यक नीति तथा कानुनी व्यवस्था अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सांसद राईले बाँदर नियन्त्रणका लागि आवश्यक कानुन निर्माण, व्यवस्थापन वा अन्य उपयुक्त उपायमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरे। निर्धारित समयभित्र ठोस पहल नभए संसदमा यस विषयमा व्यापक रूपमा आवाज उठ्ने चेतावनी पनि उनले दिए।
उनले सरकारसँग सात दिनभित्र यस विषयमा स्पष्ट धारणा र कार्ययोजना प्रस्तुत गर्न माग गरेका छन्।







