२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढिरहेका इभी दुर्घटना: बिजुली गाडी असुरक्षित कि पूर्वाधार कमजोर ? 

अ+ अ-

सडकमा बढिरहेका विद्युतीय सवारी साधन (इभी) को दुर्घटना पनि उसैगरी बढिरहेको छ । किन बढ्दो छन् इभी दुर्घटना ? कमजोरी के र कहाँ भइरहेको छ ? 

काठमाडौँ । प्रहरीका आँकडा हेर्ने हो भने नेपालमा सवारी दुर्घटना दिनानुदिन बढिरहेको देखिन्छ । पछिल्लो पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म सार्वजनिक सवारीसाधन दुर्घटनामा २ हजार १६७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाउँछ । यसरी हरेक दिन भइरहने दुर्घटनाले युवाका सपना र परिवारको आशामात्र उजाडेका छैनन्, कामकाजी युवाशक्ति गुमाउँदा राज्यले तिनमा गरेको लगानी पनि खेर गइरहेको छ ।

यस्ता दुर्घटनाको कारण एउटै हुँदैन । सवारी साधन, सवारी चालक र सडकको अवस्था सबै यसमा जिम्मेवार हुन्छन् । नेपालको भूगोल र वातावरणीय स्थितिमा अभ्यस्त भई नसकेका इन्धनबाट चल्ने सवारीहरू व्यवस्थित र प्रयोगयोग्य भई नसक्दै नेपाली उपभोक्तामा बिजुली गाडी (इभी)को नयाँ लहर छाएको छ । 

नेपालमा इभी भित्रिएको समय केलाउने हो भने लामो समय भइसक्यो । फरक यति हो कि यसको प्रयोग आमरुपमा हुन थालेको भने भर्खर–भर्खर मात्र हो । हुन त सन् १९७५ मा त्रिपुरेश्वरदेखि सुर्यबिनायकसम्म चल्ने ट्रली बस त्यसताका निकै नै प्रयोगमा थियो । त्यसपछि सन् १९९५ देखि काठमाडौँमै केन्द्रित गरेर सफा टेम्पो सञ्चालन भयो । सफा टेम्पो त अहिले पनि चलिरहेका छन् । र अहिले त सडकमा जताततै विद्युतीय सवारी साधन (इभी) देखिन थालेका छन् । 

प्रविधिको विकाससँगै त्यसको प्रयोगका लागि व्यावहारिक ज्ञान अति नै महत्वपूर्ण हुन्छ । र त्यही नहुँदा दुर्घटना बढ्न थालेका छन् । केही उदाहरण हेरौँ ।

२०८३ वैशाख २८ गते काठमाडौँबाट हेटौँडा जाँदै गरेको इभी माइक्रो बस दुर्घटना हुँदा ९ जना भारतीय नागरिकसहित ११ यात्रु घाइते भए । बागमती प्रदेश ०१-०३३ च ५२५८ नम्बरको इभी ब्रेक फेल भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किन पुगेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्याल बताउँछन् । 

त्यो गाडीमा ड्राइभरसँगको सिटमा बसेका धनुषा घर भएका यात्रु अशान सफि अत्यधिक गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना भएको बताउँछन् । उनी भन्छन्, “म मोबाइलमा फिल्म हेर्दै थिएँ । गाडी स्पिडमा थियो । होस आएपछि मात्र दुर्घटना भएको थाहा भयो ।” 

सफिका अनुसार दुर्घटनामा टाउकोमा चोट लागेपछि बेहोस भएका उनी ३-४ मिनेटपछि मात्र होसमा आएका थिए । गाडीको ब्रेक फेल भएका कारण दुर्घटना भएको हो त भन्ने प्रश्नमा उनले त्यसो नभएको, बरु गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताए । “अगाडि सडक घुमाउरो थियो, स्पिड धेरै भएका कारण दुर्घटना भएको हो,” ब्रेक फेलबारे पुनः जिज्ञासा राख्दा उनले उल्टै प्रश्न गरे, “नयाँ गाडी कसरी ब्रेक फेल हुन्छ ?”

सफि अहिले अस्पतालबाट घर फर्किसकेका छन् । अन्य ९ जना भने उपचारकै क्रममा छन् । 

वैशाख १७ गते राति साढे ११ बजे सुदूरपश्चिम प्रदेशको जिल्ला डोटीमा पनि सुदूरपश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको इभी माइक्रो बस दुर्घटना हुँदा ७ जना घाइते भए । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-२, मेलखोलामा सो माइक्रो बस अत्यधिक गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले बताए । रावलका अनुसार उक्त दुर्घटनाका घाइतेहरू उपचारकै क्रममा छन् ।

यी दुवै घटनामा इभी गाडी नियन्त्रणमा समस्या भएको देखिन्छ । के इभी भएकै कारण यी दुर्घटना भएका हुन् त ? के इन्धन गाडी भएको भए दुर्घटना हुँदैनथे ? 
तर इन्धनयुक्त सवारी साधन भन्दा विद्युतीय सवारीसाधनमा नियन्त्रणका लागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जडान गरिएको हुन्छ । यसले गति नियन्त्रण गरी सवारी रोक्न धेरै नै मद्दत गर्छ । इभीमा रिजेनेरेटिभ ब्रेकिङ हुने भएका कारण ब्रेक फेल भएर गाडी दुर्घटना हुने सम्भावना कम भएको इन्जिनियरहरू बताउँछन् । तर उक्त ब्रेकिङ सिस्टमबारे चालक पूर्णरुपमा अभ्यस्त हुन जरुरी हुन्छ । दुर्घटनाको कारण जे भए पनि बढ्दो इभी दुर्घटनामा चालक अभ्यस्त नहुनु, नयाँ प्रविधिबारे आवश्यक तालीम, सचेतना नहुनु र सडक पूर्वाधार नै मुख्य कारण रहेको सडक तथा सवारीविज्ञ डा. भगवती सेढाईं बताउँछिन् ।

भयाभह बनिरहेको इभी दुर्घटना
गत वर्षको आँकडा केलाउने हो भने कूल आयात हुने सवारी साधनमा अनुपातका आधारमा विद्युतीय सवारी साधन (इभी) सबैभन्दा आयात गर्ने नेपाल विश्वकै दोस्रो मुलुक हो । पहिलो नम्बरमा भने नर्वे छ । नेपालमा पछिल्लो समय इभीको प्रयोगमा आकर्षण बढेसँगै यससँग सम्बन्धित सडक दुर्घटना र मानवीय क्षतिको तथ्यांक पनि भयावह देखिएको छ । 

नेपाल प्रहरीले राखेको आँकडा अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म देशभर एक हजार ३१६ इभी दुर्घटना भएको देखिन्छ । ती दुर्घटनामा ५५ जनाको मृत्यु भएको छ भने २३० जना गम्भीर घाइते भएका छन् । त्यस्तै, एक हजार ९९९ जना साधारण घाइते भएको प्रहरी तथ्यांकले देखाउँछ ।

यसमध्ये प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी ५३९ वटा इभी दुर्घटनाका घटना भएका छन् । त्यहाँ भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, मधेश प्रदेशमा २३७ इभी दुर्घटनामा सबैभन्दा बढी १८ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकामा २२९ दुर्घटनामा ४ जनाको मृत्यु र ८ जना गम्भीर घाइते भएका छन् । लुम्बिनी प्रदेशमा १८५ दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने अन्य प्रदेशहरू बागमतीमा ७, गण्डकीमा ४, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा कुल एक हजार १०३ वटा इभी दुर्घटना भएका थिए । ती दुर्घटनामा गुमाउनेको संख्या ९० थियो । सो अवधिमा भएका इभी दुर्घटनामा २२३ जना गम्भीर घाइते र दुई हजार ४०३ जना साधारण घाइते भएका थिए ।

गत वर्षको तथ्यांक अनुसार पनि कोशी प्रदेशमा सबैभन्दा धेरै ६९३ वटा इभी दुर्घटना भएका थिए । गत वर्ष मधेश प्रदेशमा भएका इभी दुर्घटनामा २८, बागमती प्रदेशमा भएका दुर्घटनामा २१ र लुम्बिनी प्रदेशमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । 

प्रहरीले राखेको तथ्यांकलाई विश्लेषण गर्दा मुख्यतः कोशी र मधेश प्रदेशमा इभी दुर्घटना हुने दर उच्च देखिन्छ । यसले सवारी साधनको संख्या वृद्धिसँगै सडक सुरक्षा र चालकको सचेतनामा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता औँल्याएको छ ।

यातायात विज्ञ डा. सेढाईं नेपालमा आयात गरिएका इभीलगायत गाडीहरू राम्रोसँग परीक्षण गरेर नआएका र नल्याइएका कारण पनि दुर्घटनाको अवस्था बढ्दो रहेको बताउँछिन् । हाम्रो भौगोलिक अवस्था र सडकको अवस्थाले पनि अटोमेटिक सवारीलाई झनै जोखिम रहेको उनको भनाई छ ।

मेसीन फरक, सामान फरक तर चालक र चलाउने शैली पुरानै भएका कारण पनि दुर्घटनाको जोखिम बढेको उनले उल्लेख गरिन् । सेढाईंका अनुसार नेपालमा प्रविधि फेरिएसँगै त्यसप्रतिको आकर्षण बढ्दो रहेको तर त्यसको सही प्रयोग र व्यवस्थापनका लागि सचेतना वा तालिमको अभाव देखिएको छ । 

सडक विभागमा लामो समय काम गरेका मेकानिकल इन्जिनियर बाबुराम गुरुङ सेपिलो सडक अर्थात् चिसो बढी रही रहिने सडक विशेष नौबिसे-मुग्लिङ सडकमा सुरुमै छिट्टो चक्का घुम्ने, ओरालोमा पनि रिजेनेरेटिभ ब्रेकको कारणले चक्का स्लिप भई गाडीको स्टबिलिटिमा कमी आउने बताउँछन् ।

इभीको आवाज नहुँदा पनि धेरै चालक अभ्यस्त नभएको उनी बताउँछन् । इन्जिन गाडीको आवाज आउने हुँदा चालकले गति सजिलै थाहा पाउने, सडकमा रहेका यात्रु र अन्य जनावरसमेत सहजै छेउतिर लाग्ने तथा इन्धन (इन्जिन) गाडीमा हामी धेरै अभ्यस्त रहेकाले इभी प्रयोगमा अभ्यस्त हुन समय लाग्ने उनले बताए । 

गुरुङका अनुसार इभी दुर्घटनाको एउटा कारण कन्ट्रोल मेकानिजम् पनि हो । इन्जिन गाडीमा क्लच र गियरको तादम्य मिलाएर मात्रै सवारी अघि बढ्छ । इभीमा भने स्टार्ट गरेर रेस दिने बित्तिकै गाडी ह्वात्तै अघि बढ्छ । जसले सहजै कन्ट्रोल गर्न असहज बनाउने कतिपयको आँकलन छ । गुरुङ भन्छन्, “ओभर रिलायन्स सिस्टमले गर्दा पनि दुर्घटनाको जोखिम बढाउँछ । इभी सवारीमा भएका लेन मिच्दा दिने संकेत, सवारी ठोक्किन खोज्दा वा नजिक आउँदा दिने संकेत होस् वा सवारी आफैमा इमर्जेन्सी ब्रेक सिस्टम, यी सबै सिस्टमले व्यक्तिको प्रविधिप्रतिको विश्वसनीयता यति बढ्छ कि समस्या सिर्जना भई कुनै सिस्टमले काम नगरेर जोखिमको स्थितिमा पुगिसकेपछि पनि विश्वसनीयतामा कमी हुँदैन र अन्ततः दुर्घटना हुन पुग्छ ।” 

इभी आयात बढ्यो, पूर्वाधार र तालिम भएन 
नेपालमा पछिल्लो समय इभीको आयातमा व्यापक वृद्धि भएको छ । भन्सार विभागको आँकडा र हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा साना तथा मझौला सवारी साधनको कुल आयातमध्ये ७६ प्रतिशत हिस्सा विद्युतीय सवारीले ओगटेका छन् । 

आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालमा ३४ अर्ब ३७ करोड २७ लाख ८१ हजार रुपैयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत बढी हो । तथ्यांक अनुसार विगत ६ वर्षमा इभीको आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा जम्मा २ हजार ९४० इभी भित्रिएकोमा आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो संख्या बढेर ४४ हजार ५०९ पुगेको छ ।

अहिले नेपालमा आयात भइरहेका इभीमध्ये ८० प्रतिशत हिस्सा चीनबाट आउने गाडीहरूको रहेको छ । चीनका अतिरिक्त भारत, इन्डोनेसिया, कोरिया, जर्मनी र अमेरिकाबाट पनि विद्युतीय सवारीहरू आयात हुने गरेका छन् ।

विद्युतीय मोटरसाइकल र स्कुटरको संख्या अन्य सबै सवारीको तुलनामा सबैभन्दा धेरै १ लाख २१ हजार ५६८ पुगेको छ । क्षमताका आधारमा ५० किलोवाटसम्मका गाडीहरूको संख्या ६ हजार ८५१ रहेको छ भने २०१ देखि ३०० किलोवाटसम्मका गाडीहरू १ हजार ७६० वटा भित्रिएका छन् । १०१– २०० किलोवाट श्रेणीका गाडीहरूको आयात भने सबैभन्दा न्यून ९८ वटा मात्र देखिएको छ ।

सार्वजनिक यातायाततर्फ ४०७ वटा माइक्रो बस सञ्चालनमा छन् जुन यो क्षेत्रमा सबैभन्दा धेरै हो । त्यस्तै, मध्यम र ठुला आकारका बस २५ वटा र मिनी बस २१ वटा गरी कुल ४६ वटा ठुला सार्वजनिक इभी रहेका छन् ।

तराई र काठमाडौँ उपत्यकामा लोकप्रिय रहेका विद्युतीय टेम्पो र अटो रिक्साको संख्या ६ हजार ८५६ पुगेको छ भने सामान ढुवानीका लागि ३७ वटा डेलिभरी भ्यानहरू भित्रिएका छन् । तराईमा अटोरिक्सा निर्माण नै हुने भएकाले यो आँकडाले प्रयोगमा रहेका सबै अटोरिक्सा भने समेट्दैन ।

नेपालमा इन्जिन गाडीको तुलनामा इभीको भन्सार दर न्यून हुनु, स्थिर कर प्रणाली र कम सञ्चालन खर्चका कारण उपभोक्ताहरू यसप्रति आकर्षित देखिन्छन् । इन्जिनियर प्रवेश पौडेल सवारी आयात गर्दा निश्चित मापदण्ड नराखिँदा टेक्नोलोजीमै समस्या नरहे पनि रिफाइन हुँदा फिचरहरू फरक पर्ने भएका कारण त्यस्ता गाडी आयात गरेर चलाउँदा झन् दुर्घटनाको जोखिम बढ्न सक्ने बताउँछन् । उनका अनुसार त्यसका लागि सरकारले विभिन्न मापदण्ड बनाएर सवारी आयातमा कडाइ गर्नुपर्छ । 

सवारीका निश्चित फिचरहरू राखेर मात्र आयात गर्ने व्यवस्था लागु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “नेपालमा चारवटा पांग्रा भएको, ब्रेक लाग्ने हुनुपर्छ भन्ने मापदण्ड छ । त्यसरी त भएन, कम्तीमा पनि कुन सिस्टमको ब्रेक हो ? कस्तो-कस्तो फिचरको हो ? यी सबै कुरा खुलाएर मात्रै आयात गरिनुपर्छ ।”

इभीको बढ्दो प्रयोग र आकर्षणसँगै गम्भीर प्राविधिक र व्यवस्थापकीय चुनौतीहरू पनि थपिँदै गएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘नेपालमा विद्युतीय सवारी साधन (इभी) को प्रवर्द्धनका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था, वर्तमान अवस्था, अवसर, चुनौतीहरू र सम्भाव्यताको अध्ययन’ गरेको थियो । मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदन र विज्ञहरूको विश्लेषणले इभीको दिगो व्यवस्थापनका लागि स्पष्ट नीति र पूर्वाधारको अभाव रहेको औँल्याएको छ ।

सरकारी प्रतिवेदनमै समेटिएको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक हेर्दा नेपालमा आयात हुने साना तथा मझौला सवारी साधनमध्ये ७६ प्रतिशत हिस्सा विद्युतीय सवारीको रहेको छ । सरकारले सन् २०३५ सम्ममा सडकमा गुड्ने सवारी साधनमध्ये ९० प्रतिशत विद्युतीय बनाउने लक्ष्य राखेको छ । यसले पेट्रोलियम आयात घटाउन र कार्बन उत्सर्जन न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विज्ञहरूका अनुसार इभीको प्राविधिक बनोट परम्परागत इन्जिन भएका सवारीको तुलनामा फरक भएकाले दुर्घटनाको जोखिम बढेको छ । सरकारी प्रतिवेदनले नै इभी गुड्दा आवाज नआउने भएकाले पैदल यात्री र पशुपन्छीले गाडी आएको थाहा नपाउँदा दुर्घटनाको जोखिम भएको कुरालाई प्रमुख रूपमा उठाएको छ । 

प्रतिवेदनले इभीमा एक्सिलेटर दबाउने बित्तिकै तीव्र गति लिने हुनाले नयाँ चालकले नियन्त्रण गुमाउन सक्ने सम्भावना रहने उल्लेख गरेको छ । त्यसमाथि इभीमा ब्याट्रीको तौल अत्यधिक हुने भएकाले चालकहरूले ब्याट्रीको भारलाई विचार नगरी थप यात्रु वा सामान राख्दा गाडी ओभरलोड भई दुर्घटना हुने जोखिमसमेत हुन्छ । 

नेपालका कच्ची र घुमाउरो सडकमा इभीको ‘ग्राउन्ड क्लियरेन्स’ कम हुँदा र रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सही प्रयोग नहुँदा समस्या देखिएको प्रतिवेदनले उल्लेख गरेको छ । 

अध्ययनले नेपालमा इभीका पूर्वाधार अर्थात् चार्जिङ स्टेसनको अपर्याप्तता र वितरणमा रहेको असन्तुलनलाई ठुलो समस्याका रूपमा देखाएको छ । धेरैजसो चार्जिङ स्टेसनहरू मुख्य सहरहरूमा मात्र सीमित छन् । साथै, इभी मर्मतका लागि दक्ष जनशक्ति र वर्कशपको अभावले गर्दा सवारीको गुणस्तरमा ह्रास आइरहेको छ ।

प्रतिवेदनले यसको सुधारका लागि सन् २०३० सम्ममा कम्तीमा १० हजार चार्जिङ स्टेसनहरू निर्माण गर्ने, इभी चालकहरूका लागि अनिवार्य प्रशिक्षण र लाइसेन्स प्रणालीमा सुधार गर्ने, पुराना ब्याट्रीहरूको रिसाई कल र डिस्पोजलका लागि स्पष्ट नीति बनाउने, भन्सार दर र कर प्रणालीमा स्थिरता कायम गरी लगानीकर्ता र उपभोक्ताको विश्वास जित्ने जस्ता सुझावहरू दिएको छ ।

अहिलेसम्म सरकारले अध्ययनले दिएका सुझाव र बढ्दो दुर्घटनाको अवस्थालाई गम्भीरतापूर्वक लिएको देखिँदैन । यसलाई बेवास्ता गरिएमा यसको प्रत्यक्ष मार आम उपभोक्ता तथा यात्रुको सुरक्षासँग जोडिनेछ । अनि राज्यले त्यसको भार बोक्नुपर्ने छ ।

0 Comments