काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था का ऋण तिर्न बाँकी रहेका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिले २०८३ वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उपलब्ध अभिलेख तथा ऋणी विवरणका आधारमा नाम सार्वजनिक गरिएको जनाएको छ । यसअघि नेपाल सरकारले २०८० चैत १३ गते उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।
समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा नाम परेका तर ऋण दायित्व पूरा गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ । अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि यस्तो अनुरोध गरिएको समितिको भनाइ छ ।
त्यसैगरी हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई यथाशीघ्र समितिको सम्पर्कमा आई बक्यौता रकम चुक्ता गर्न निर्देशन दिइएको छ । निर्धारित प्रक्रिया अनुसार ऋण भुक्तानी नगरेमा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाइने चेतावनी समेत समितिले दिएको छ ।
समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षणका लागि सरकारले पछिल्लो समय निगरानी र कानुनी प्रक्रिया तीव्र बनाउँदै आएको छ ।







