काठमाडौँ । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आधारभूत वर्गको अवसर विस्तार गर्ने ठोस योजना समावेश नभएको बताएका छन् ।
बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद बरालले मध्यम वर्ग विस्तारको विषय उठाइए पनि त्यसलाई उद्यमशीलता, व्यवसाय विकास तथा आर्थिक सशक्तीकरणसँग प्रभावकारी रूपमा जोड्न नसकिएको टिप्पणी गरे ।
उनका अनुसार बजेटले मध्यम वर्गको क्षमता अभिवृद्धि र उत्पादनमुखी आर्थिक गतिविधि विस्तार गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकेको छैन ।
सांसद बरालले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने विषयमा सैद्धान्तिक प्रतिबद्धता व्यक्त गरिए पनि त्यसका लागि आवश्यक ठोस आधार र कार्ययोजना बजेटमा स्पष्ट नभएको धारणा राखे ।
यसैगरी उनले सामाजिक सुरक्षा कार्यक्रमको दायरा सीमित गर्ने संकेत बजेटमा देखिएको आरोप लगाए । सक्नेले छोड्ने र आवश्यकतामा रहेकालाई मात्र समेट्ने अवधारणामार्फत सरकार सामाजिक सुरक्षाको दायित्वबाट क्रमशः पछि हट्न खोजेको उनको भनाइ थियो ।







