जुम्ला । हिमा गाउँपालिका-३ जोग बाडामा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सहयोगमा रु. छ करोड ३४ लाखको लागतमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रुपकबहादुर रावलले पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएकामा मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माण सम्झौता भएको जानकारी दिए ।
हिमा नदी माथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारीसाधन सञ्चालन तथा आवतजावतमा समस्या भइरहेको छ । प्रदेश सरकारले बहु वर्षीय बजेट सुनिश्च गरेपछि पुल निर्माण अगाडि बढेको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईले जानकारी दिए ।
पुल निर्माण भएपछि यहाँका बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यहाँका विकट गाउँ बस्तीका कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत सहज हुने हिमा–३ का वडाध्यक्ष धनबिर रोकायाले बताए।
आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको पुल ४० मिटर लामो रहेको छ ।







