काठमाडौँ । नेपाली काँग्रेसभित्र क्रियाशील सदस्यता व्यवस्थापनलाई लिएर देखिएको विवादका बीच पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षलाई समेट्ने गरी समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले आगामी १५ औँ महाधिवेशनलाई समग्र पार्टी एकतालाई मजबुत बनाउने अवसरका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार जारी गरिएको प्रेस वक्तव्यमार्फत खड्काले पुस १० गतेअघि र त्यसपछि भएका क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवैलाई मान्यता दिइनुपर्ने पक्षमा आफू स्पष्ट रहेको बताएका हुन्। उनका अनुसार महाधिवेशनलाई समावेशी र स्वीकार्य बनाउन सबै चरणमा भएका सदस्यता प्रक्रियालाई सम्बोधन गर्नु आवश्यक छ।
उनले १५ औँ महाधिवेशनलाई “एकताको महाधिवेशन” का रूपमा सफल बनाउन पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको अधिकांश काम २०८२ साल पुस १० गतेसम्म सम्पन्न भइसकेको जानकारी दिएका छन्।
त्यस क्रममा छुटेका नवीकरणकर्ताहरू, नवीकरण गर्न चाहने सदस्यहरू तथा नयाँ सदस्यता लिन इच्छुक व्यक्तिहरूलाई समेत समेटेर प्रक्रिया अघि बढाउनुपर्ने धारणा उनले राखेका छन्। खड्काका अनुसार पुस १० गतेसम्मका साथै त्यसपछि भएका नवीकरण तथा नयाँ सदस्यता प्रक्रियालाई पनि महाधिवेशन सहभागितामा समेट्ने विषयमा आफू दृढ रहेको छ।
काँग्रेसभित्र सदस्यता विवाद लामो समयदेखि छलफलको विषय बनेको अवस्थामा खड्काको पछिल्लो वक्तव्यले आन्तरिक समन्वय र सहमति निर्माणको प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ।








