काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।
डुम्रेबाट दमौली हिँडेको बिआर १० एबी ७७३९ नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब १:०० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पाँच जना सवार रहेको उक्त कार अचानक सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा भारतको बिहार मधुबनी-१० बस्ने ३७ वर्षीया आशा देवी र सोही स्थान बस्ने ४० वर्षीया मनिका देवी र कार चालक भारत बिहार भागलपुर बस्ने २८ वर्षीय सोनु छन् ।
तीनै जना भारतीय नागरिकलाई तत्काल उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाइएको छ। कारमा सवार अन्य दुई जना भारतीय नागरिक पूर्ण रूपमा सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।







