काठमाडौँ । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराएका हुन् ।
उनले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारे ।
उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताए।
पौडेलले भने, “नेपालका विश्वविद्यालयमा हाल करिब १,४०० विदेशी विद्यार्थी अध्ययनरत छन् । स्टुडेन्ट भिसा सहजीकरणको लागि गृह मन्त्रालयसँग छलफल भइरहेको र मेडिकल शिक्षामा विदेशी विद्यार्थीको आकर्षण बढेकाले उनीहरूको कोटा विस्तार गर्ने तयारी सरकारले गरिरहेको ।”
सचिव पौडेकाअनुसार करिब एक हजार चार सय जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । ती मध्ये सबैभन्दा बढी आकर्षण भने मेडिकल शिक्षामा रहेको उनले बताए ।






