काठमाडौँ । सप्तरीको राजापुर नगरपालिकाका हजारौँ परिवार दशकौँदेखि बसोबास गर्दै आए पनि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्न नसकेको विषय राष्ट्रिय सभामा उठाइएको छ।
नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राजापुर नगरपालिकाका बासिन्दा लालपुर्जा वितरणको माग राख्दै ४३ दिनदेखि आन्दोलनरत रहेको जानकारी दिए।
उनका अनुसार राजापुर नगरपालिकामा करिब ७० बिघा क्षेत्रफलमा बसोबास गरिरहेका ५ हजार २३५ घरधुरीले करिब ८५ वर्षदेखि लालपुर्जा प्राप्त गर्न सकेका छैनन्।
सांसद कर्णले जग्गा व्यवस्थापनको विषयमा सरकारले आवश्यक चासो नदिएको आरोप लगाउँदै २०८० सालमा नापी कार्यालयले लालपुर्जा वितरणसम्बन्धी सूचना जारी गरे पनि त्यसपछिको प्रक्रिया अघि नबढेको बताए।
उनले लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाबाट वञ्चित रहेका सबै वास्तविक जग्गाधनीलाई शीघ्र लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।







