काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने परम्परासँगै भक्तपुरमा उत्पादन हुने ताइचिन चिउराको कारोबार उल्लेखनीय रूपमा बढेको छ। असार १५ का अवसरमा भक्तपुरबाट मात्रै करिब ४० टन ताइचिन चिउरा बिक्री भएको व्यवसायीहरूले बताएका छन्।
भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष तथा चिउरा व्यवसायी वीरेन्द्र जतिका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोकसम्मका बजारमा एकै दिन उक्त परिमाणको ताइचिन चिउरा बिक्री भएको हो। उनका अनुसार दहीसँग ताइचिन चिउरा खाने परम्पराका कारण प्रत्येक वर्ष असार १५ मा यसको माग उल्लेखनीय रूपमा बढ्ने गरेको छ।
भक्तपुरमा सञ्चालनमा रहेका करिब २५ वटा चिउरा उद्योगबाट दैनिक करिब २५ टन ताइचिन चिउरा उत्पादन हुँदै आएको जनाइएको छ। भक्तपुर नगरपालिका-६, भालाछेँस्थित लक्ष्मी चिउरा उद्योगमा मात्रै सामान्य अवस्थामा दैनिक करिब ८०० किलो चिउरा बिक्री हुने गरेको व्यवसायीहरूको भनाइ छ।
यस वर्ष असार १५ का अवसरमा आफ्नो उद्योगमा एक हजार किलो चिउराको माग आए पनि उत्पादन अभावका कारण ८०० किलो मात्रै आपूर्ति गर्न सकिएको जतिको भनाइ छ। हाल भक्तपुरबाट ताइचिन चिउरा प्रतिकिलो २५० रुपैयाँमा बिक्री हुँदै आएको छ।
व्यवसायीहरूका अनुसार स्वादिलो तथा स्वास्थ्य वर्द्धक मानिने ताइचिन चिउरा दहीसँग खाने चलनका कारण यसको बजार माग स्थिर रहेको छ। भक्तपुरबाट वार्षिक करिब ३०० टन ताइचिन चिउरा काठमाडौँ उपत्यकाका विभिन्न बजारमा आपूर्ति हुने गरेको उनीहरूले बताएका छन्।
ताइचिन चिउरा उत्पादनका लागि चैते धानका साथै चितवन, नुवाकोट, पनौती, नाला र भक्तपुरलगायत क्षेत्रबाट मौसमी रूपमा धान संकलन गरी प्रशोधन गर्ने गरिएको व्यवसायीहरूले जानकारी दिएका छन्।






