काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा भएको नियुक्तिप्रति असहमति जनाउँदै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ।
सङ्गठनका अध्यक्ष दीपक धामीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सेवा आयोगको अध्यक्षजस्तो विशुद्ध प्राज्ञिक जिम्मेवारीमा सक्रिय दलीय राजनीतिसँग सम्बन्धित व्यक्तिको नियुक्ति गरिएको विषयप्रति अनेरास्ववियुको गम्भीर चासो रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालय ज्ञान उत्पादन, अनुसन्धान तथा बौद्धिक नेतृत्व विकास गर्ने मुलुकको प्रमुख प्राज्ञिक संस्थाका रूपमा रहेकाले यसका संरचना र निकायहरू राजनीतिक प्रभावबाट स्वतन्त्र रहनुपर्ने अनेरास्ववियुको धारणा छ।
सङ्गठनले उक्त नियुक्तिले विश्वविद्यालयको संस्थागत प्रतिष्ठा, प्राज्ञिक स्वतन्त्रता तथा सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको दाबी गरेको छ। साथै, यस प्रकारको निर्णयले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको प्रवृत्तिलाई बल पुग्ने, योग्यता र खुला प्रतिस्पर्धामा आधारित प्रणाली कमजोर बन्ने, प्राज्ञिक समुदायमा निराशा बढ्ने तथा विश्वविद्यालयप्रतिको सार्वजनिक विश्वासमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने जनाएको छ।






