काठमाडौँ। इरानका पूर्व सर्वोच्च नेता अलि खामेनीको निधन भएको चार महिनाभन्दा बढी समयपछि अन्त्येष्टि सम्पन्न गरिएको छ। उनलाई देशको प्रमुख शिया धार्मिक केन्द्र मानिने मशहदस्थित इमाम रेजाको पवित्र दरगाह परिसरमा दफन गरिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
शुक्रबार बिहान सम्पन्न दफन कार्य धार्मिक परम्पराअनुसार सीमित उपस्थितिमा गरिएको थियो। इमाम रेजाको दरगाह विशाल सुनौलो गुम्बज र सुनले सजिएका मिनारका कारण परिचित रहेको तथा शिया मुस्लिम समुदायको महत्वपूर्ण तीर्थस्थलका रूपमा मान्यता प्राप्त छ।
दफनअघि भने एक सातासम्म विभिन्न स्थानमा सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम र शवयात्रा आयोजना गरिएको थियो। ती कार्यक्रममा करिब एक करोड ५० लाख मानिस सहभागी भएको बताइएको छ भने इरानी पक्षले सहभागी संख्या तीन करोडभन्दा बढी हुन सक्ने दाबी गरेको छ।
अन्त्येष्टिका क्रममा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी सार्वजनिक रूपमा उपस्थित नभएको समाचारमा उल्लेख छ। उनी फेब्रुअरी २८ मा तेहरानस्थित खामेनी निवासमा भएको अमेरिका-इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएको जनाइएको छ। उक्त आक्रमणमा अलि खामेनीको मृत्यु भएको थियो। त्यस घटनालाई अमेरिका-इजरायल र इरानबीचको युद्धको प्रारम्भिक बिन्दुका रूपमा पनि विश्लेषण गरिएको छ।
यसअघि खामेनीको अन्त्येष्टि मार्च महिनामै गर्ने तयारी गरिएको भए पनि युद्धको परिस्थितिका कारण निर्धारित कार्यक्रम स्थगित भएको थियो।







