काठमाडौँ । संघीय संसद् सचिवालयले सांसदहरूलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन निर्देशन दिएको छ।
सचिवालयले जारी गरेको सूचनामार्फत प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको चल-अचल सम्पत्तिको विवरण स्रोत खुल्ने गरी अद्यावधिक गर्न अनुरोध गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको सचिवालयले जनाएको छ।
सांसदहरूले कानुनले तोकेको समय सीमाभित्र सम्पत्तिको विवरण, त्यसको स्रोत तथा आवश्यक प्रमाणसहित विवरण पेस गर्नुपर्नेछ। सचिवालयले तोकिएको अवधिमा विवरण उपलब्ध गराउन सम्बन्धित सबै सदस्यको ध्यानाकर्षण गराएको छ।








