काठमाडौँ । कोशी प्रदेश खेलकुद विकास बोर्डले मातहतको कार्यालयलाई विभिन्न प्रयोजनमा पठाएको पेस्की खर्च नभएका अवस्थामा असुल गर्न थालेको छ ।
बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि छुट्याउने गरेको रकम जिल्लामा पठाउने गरेको तर खर्च नभएको रकम लामो समयसम्म फिर्ता नभएपछि पेस्की फर्छ्यौटमा कडाइ गरेको बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए ।
उनले बोर्डमातहत खर्च हुने पैसाको ठूलो हिस्सा खेल प्रतियोगिता र खेलाडीका लागि भएकाले त्यस्तो रकम जिल्ला खेलकुद समितिले कुनै अन्य प्रयोजनमा प्रयोग गरे गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न बोर्डले पहल गरेको स्पष्ट पारे ।
बोर्डले २०८१ माघ १३ गते विभिन्न जिल्ला खेलकुद समितिलाई पठाएकोमध्ये खोटाङसँग असुलउपर गर्न बाँकी रु. आठ लाख पेस्की असुल गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङले असार ८ गते सामाजिक विकास मन्त्रालयको खातामा उक्त रकम फिर्ता गरेको सदस्य सचिव घोषले जानकारी दिए ।
त्यस्तै, बोर्डले जिल्ला खेलकुद विकास समिति तेह्रथुमका तत्कालीन अध्यक्ष राजेन्द्र बरालले हिनामिना गरेको रु २५ लाख बढी रकम असुल गर्नसमेत प्रक्रिया सुरु गरेको छ । अध्यक्ष बरालले समितिको कार्यालय प्रमुखको हस्ताक्षर कीर्ते गर्दै समितिको रु. २५ लाख तेह्रथुम ‘डिस्ट्रिक्ट स्पोर्टस्’ विकास समितिका नाममा कृषि विकास बैंकमा खाता खोलेर हिनामिना गरेको आरोप छ ।
सदस्य सचिव घोषले बोर्डले तेह्रथुम खेलकुद विकास समितिको रकम असुल्न कानुनी कारबाही थालेकामा कानुनअनुसार अघि बढ्ने बताए । सबै रकम असुल गरेर खेल र खेलाडीको हितमा प्रयोग गर्ने उनको भनाइ थियो ।






