इरान । इरान र इराकले द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सुरक्षा सुदृढीकरणका लागि एक सम्झौता र तीनवटा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार बिहीवार तेहरानमा आयोजित एक विशेष समारोहका बीच यी सहमतिहरू भएका हुन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र इराकी प्रधानमन्त्री अली अल–जैदीको उपस्थितिमा दुवै देशका उच्च अधिकारीहरूले ती दस्ताबेजमा हस्ताक्षर गरेका थिए।
सम्झौतामा मालसामानको सडक ढुवानी, दुई देशबीच रेलवे निर्माण, तेहरान र बग्दादबीच सिस्टर सिटी सम्बन्ध स्थापना तथा सार्वजनिक प्रशासन, शिक्षा र मानव संशाधनका क्षेत्रमा सहकार्य गर्ने विषयहरू समेटिएका छन् ।
हस्ताक्षर कार्यक्रमपछि भएको भेटवार्तामा राष्ट्रपति पेजेस्कियान र प्रधानमन्त्री अल–जैदीले द्विपक्षीय सम्बन्धको प्रवद्र्धनले दुवै देशको स्थिरता, सुरक्षा र समृद्धिका साथै पश्चिम एशियाली क्षेत्रमा ऐक्यवद्धता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
इरानी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, दुवै नेताले दुई देशबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई रणनीतिक सहकार्य विस्तारको आधारभूत सम्पतीका रूपमा परिभाषित गरेका छन् । बैठकमा दुवै नेताले यसअघि भएका सम्झौताहरूको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने र राजनीतिक, आर्थिक, व्यापारिक, पारवहन तथा ऊर्जा क्षेत्रका साझा क्षमताहरूलाई सक्रिय बनाउन आह्वान गरे ।
इराकी प्रधानमन्त्री अल–जैदीले इराक र इरानको सुरक्षा एक–अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै आफ्नो भूमिबाट इरानको सुरक्षामा खतरा उत्पन्न हुने कुनैपनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाए। इस्लामिक स्टेट (आईएस)विरुद्धको युद्धमा इरानले पुर्याएको सहयोगको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह गरे ।
सो अवसरमा राष्ट्रपति पेजेस्कियानले सुरक्षा र स्थिरताले द्विपक्षीय विकासमा सकारात्मक योगदान पुर्याउने बताउँदै संयुक्त लगानीका ठूला अवसरहरू रहेको उल्लेख गरे ।
दुई पक्षबीच इरान–इराक संयुक्त आर्थिक समिति’ को कार्यविधि स्थापना गर्ने विषयमा समेत छलफल भएको छ । राष्ट्रपति पेजेस्कियानको औपचारिक निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री अल–जैदी बिहीवार तेहरान पुगेका थिए । गत मे महिनामा पदभार ग्रहण गरेयता अल–जैदीको यो दोस्रो विदेश भ्रमण हो । यसअघि उनले वासिङ्टनको भ्रमण गरेका थिए ।






