काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढंगले अगाडि बढाउने बताएको हो । विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे ।
विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानूनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य शुरु गरिने आश्वासन दिए।
भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरे । करिव दुई महिनाअघिको भ्रमणमा विद्यार्थीले खेलकुद सामग्रीको अभाव रहेको भनी राखेको गुनासोलाई सम्बोधन गर्दै उनले क्रिकेट ब्याट, बल र फुटबल लगायतका सामग्री उपलब्ध गराएका छन् ।
आफ्नै पूर्वप्रतिवद्धता अनुरूप विद्यार्थीको माग पूरा गर्न पाउँदा खुशी लागेको उनले बताए। मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानका सन्दर्भमा मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन सार्वजनिक गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेको समेत स्पष्ट पारे ।
मन्त्री पोखरेलले भने, ‘आज हामी उपकुलपतिज्यूसँग छलफल गरी विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा आवश्यक परामर्श गरेका छौँ । यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ ।
यसअघि जनकपुर भ्रमणका क्रममा विद्यालयका विद्यार्थीहरूले खेल सामग्रीको अभावबारे गुनासो गरेका थिए । त्यतिबेला गरेको प्रतिबद्धताअनुसार आज क्रिकेट ब्याट, बल, फुटबललगायत खेल सामग्री विद्यालयलाई हस्तान्तरण गरेका छौँ । साक्षर प्रदेश घोषणा सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको छ र यसको प्रगति सन्तोषजनक रहेको जानकारी पाएका छौँ । आगामी दिनमा प्रदेशका सम्बन्धित निकाय र पदाधिकारीसँग छलफल गरी यसको कार्यान्वयनको अवस्था थप समीक्षा गर्ने योजना छ । समस्याको पहिचान र समाधान गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ । विश्वविद्यालयका लागि जग्गा प्राप्त गरी आफ्नै भवन निर्माण प्रक्रिया सकेसम्म छिटो शुरु गरिनेछ ।’
शिक्षा क्षेत्रमा थुप्रै चुनौतीहरू रहे पनि ती चुनौतीभित्र अवसरहरू खोज्दै सरकार अगाडि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ ।






