काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य रमेश मल्लले जनसरोकारसँग प्रत्यक्ष जोडिएका सेवा, कृषि, स्वास्थ्य तथा विपद्पछिको पुनर्निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी हस्तक्षेपको माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद मल्लले किसानले आवश्यक समयमा रासायनिक मल प्राप्त गर्न नसकेको, बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको तथा विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुने समस्या अझै कायम रहेको बताए। सञ्चार सेवा पनि प्रभावकारी हुन नसक्दा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै उनले आधारभूत सेवाको नियमित र भरपर्दो आपूर्तिका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।
स्वास्थ्य सेवाको अवस्था उल्लेख गर्दै उनले सल्यान अस्पतालमा लामो समयदेखि चिकित्सकको अभाव हुँदा स्थानीय बासिन्दा उपचार सेवाबाट प्रभावित भएको बताए। आवश्यक जनशक्ति व्यवस्थापन गरी स्वास्थ्य सेवा सहज बनाउन उनले सरकारसँग आग्रह गरे।
कृषि क्षेत्रको सन्दर्भमा सांसद मल्लले स्वदेशी आलुले उचित मूल्य नपाएको गुनासो गरे। छिमेकी मुलुकबाट आयात हुने आलुको प्रभावका कारण नेपाली किसानको उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनले स्वदेशी उत्पादनको संरक्षण, बजार व्यवस्थापन तथा उचित मूल्य सुनिश्चित गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए।
भूकम्पपछिको पुनर्निर्माणको विषय उठाउँदै उनले जाजरकोट भूकम्पबाट प्रभावित सल्यानको दार्मा गाउँपालिकामा आवास पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताए। स्थानीय तहले कानुनबमोजिम तयार गरेको विस्तृत क्षति आकलन प्रतिवेदन (डीडीए) संघीय सरकारले स्वीकृत नगरेको तथा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन पटक-पटक आग्रह गर्दा पनि तीन महिनासम्म कुनै पहल नभएको उनले बताए।
सरकारी ढिलासुस्तीका कारण प्रभावित परिवारहरू अझैसम्म सुरक्षित आवासको व्यवस्था गर्न नसकी अस्थायी अवस्थामै बस्न बाध्य रहेको उल्लेख गर्दै सांसद मल्लले पुनर्निर्माण प्रक्रियालाई तत्काल गति दिन सरकारसँग माग गरेका छन्।






