चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सवारी आवागमन एकतर्फी मात्र सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान पहिरो खसे लगत्तै उपकरणहरू (डोजर/एस्क्याभेटर) परिचालन गरी पहिरो हटाउने काम द्रुत गतिमा अघि बढाइएको छ।
सडक सुपरभाइजर सुक बहादुर गुरुङका अनुसार बिहान १०:१२ बजेदेखि नै सडक पन्छाउने कार्य जारी रहेको र आगामी ३० मिनेटभित्र पहिरो पूर्ण रूपमा हटाएर दुवैतर्फको आवागमन सुचारु गर्ने लक्ष्य राखिएको छ।
अहिले सडक एकतर्फी मात्र खुला रहेकाले उक्त मार्ग भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई धैर्यता अपनाउन र लेन अनुशासनको पालना गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।






