काठमाडौँ । सांसदहरुले ग्यासको कृतिम अभाव रोक्न ग्यास सिलिन्डरको तथ्यांक संकलन गरी ट्रयाकिङ प्रणाली लागू गर्न सुझाव दिएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उक्त सुझाव दिएका छन् । उनीहरूले हाल ग्यासको आपूर्ति पर्याप्त हुँदा पनि सरकारको व्यवस्थापकीय असफलताका कारण एलपी ग्यासको अभाव भएको बताए ।
सांसदहरूले आपूर्ति पर्याप्त रहेको सरकारी दाबी र बजारमा देखिएको अभावबीचको विरोधाभास रहेको उल्लेख गर्दै वितरण प्रणाली, तथ्यांक व्यवस्थापन, अनुगमन र कानुनी संरचनामा व्यापक सुधार गर्न सरकारलाई आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले ग्यासको वास्तविक मागबारे सरकार नै अन्योलमा रहेको बताए । उनले तथ्यांक व्यवस्थापनमा गम्भीर कमजोरी रहेको उल्लेख गर्दै ग्यास खपतको यथार्थ तथ्यांक संकलन गर्नु आग्रह गरे। बजारमा आवश्यकताभन्दा बढी ग्यास भित्रिँदा पनि अभाव देखिनु व्यवस्थापनको कमजोरी र उदासीनताको परिणाम भएको उनको भनाई छ ।
रास्वपाकी सांसद सिर्जना श्रेष्ठले ग्यास आपूर्ति, सिलिन्डरको अवस्था र वितरणसम्बन्धी कुनै एकीकृत डिजिटल तथ्यांक नभएको बताइन् । उनले तत्काल डिजिटल डेटा व्यवस्थापन प्रणाली लागू गर्न माग गरिन् । टेकुस्थित परीक्षण प्रयोगशाला क्षतिग्रस्त भएपछि गुणस्तर परीक्षण कसरी भइरहेको भन्ने प्रश्न उठाइन् । उनले नेपाल आयल निगमको सूचना प्रणाली पनि कमजोर रहेको उल्लेख गर्दै वितरण, उपलब्धता र आपूर्तिसम्बन्धी सूचना डिजिटल माध्यमबाट सार्वजनिक गर्न सुझाव दिइन्। उनले ग्यास वितरणलाई पनि सबै डिपोबाट गर्ने व्यवस्था गर्न पनि आग्रह गरिन् ।
रास्वपाका सांसद प्रकाश पाठकले नेपाल आयल निगम, उद्योगी र सरकारका तथ्यांकबीच ठूलो अन्तर देखिएको भन्दै यसले अन्योल सिर्जना गरेको बताए । निगमले मासिक माग बराबर ग्यास आयात भएको दाबी गरे पनि उपभोक्ताले ग्यास नपाइरहेको उनको भनाई छ । उनले सरकारी अनुगमन, व्यवस्थापन र वितरण प्रणाली असफल भएको बताए। उनले पेट्रोलियम पदार्थ नियमनसम्बन्धी कानून अभाव रहेको उल्लेख गर्दै तत्काल नियमन प्रभावकारी बनाउन पनि आग्रह गरे ।
नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले सरकारले पर्याप्त ग्यास स्टक रहेको दाबी गरे पनि ग्यास नपाएर उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएको बताइन् । सरकारी दाबी र वास्तविकताबीच अन्तर रहेको उनको भनाई छ । तत्कालका लागि वितरण सहज बनाउन आधा सिलिन्डर वितरणको विकल्प समेत पुनः प्रयोग गर्न सकिने उनको सुझाव छ । उनले डेटा संकलनभन्दा पहिले उपभोक्ताको तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्।
एमालेका सांसद क्षितिज थेबेले ग्यास अभाव वर्षौँदेखि दोहोरिँदै आएको भन्दै अस्थायी समाधानभन्दा दिगो समाधान खोज्नुपर्ने बताए । ग्यास प्रयोग गर्न नागरिकलाई प्रोत्साहन गर्ने राज्यले नियमित आपूर्ति सुनिश्चित गर्न नसक्नु विडम्बना भएको उल्लेख गर्दै उनले विभिन्न आकारका सिलिण्डर उपलब्ध गराउने विकल्प खुला गर्न सुझाव दिए । उनले जनतालाई सास्ती हुने कामबाट मुक्त गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
रास्वपाका सांसद वदन भण्डारीले अनुगमन नै फितलो हुने गरेको बताए । उनले अनुगमन अघि सूचना चुहाएर डिपोहरू तयारी अवस्थामा राख्ने गरिएको आरोप लगाए। पूर्वसूचनाका आधारमा हुने अनुगमनले वास्तविक अवस्था नदेखाउने भन्दै उनले ग्यास सिलिन्डरको ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताए । पर्याप्त आयात हुँदाहुँदै वितरणमा समस्या देखिनु व्यवस्थापनको कमजोरी भएको उनको भनाई छ ।
नेपाली काँग्रेसका सांसद कालीबहादुर सहकारीले कर्णाली प्रदेशमा अझै ग्यास डिपो स्थापना हुन नसकेको कारणबारे जानकारी माग गरे । उनले ७.१ र १४.२ केजीका सिलिन्डरको प्रयोग अवधिमा ठूलो अन्तर देखिएको बताए । यसबारे निगमले जवाफ दिनुपर्ने उनको भनाई छ । उनले ग्यासमा लेदो मिसिएको विषयमा स्पष्ट जवाफ दिन सरकारसँग माग गरे।
उनले इन्धनको मूल्य घट्दा सार्वजनिक यातायात भाडा नघट्ने अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए।
रास्वपाकी सांसद रञ्जु न्यौपानेले काठमाडौंमा ग्यास पसलहरू बन्द रहेको र उपभोक्ता सिलिन्डर बोकेर ग्यास खोज्दै हिँड्न बाध्य भएको बताइन । उनले ग्यासको अभावको दोष उपभोक्तालाई लगाउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरिन् । उनले कानूनी सुधारसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिइन् ।
रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले समितिमा पटक-पटक छलफल भए पनि समस्या समाधान नभएको बताए । उनले काम गर्न नसक्ने भएमा सम्बन्धित निकायका पदाधिकारीहरूलाई पद छाड्न आग्रह गरे। उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा उपभोक्ताले राहत नपाउने अवस्थाप्रति पनि प्रश्न उठाए ।
रास्वपाका सांसद सोम शर्माले ग्यास अभावका कारण आफ्नै उद्योग सञ्चालन प्रभावित भएको अनुभव सुनाउँदै वितरणमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाए । सिलिन्डरको वैज्ञानिक अभिलेख नराखिँदा कृत्रिम अभाव बढेको भन्दै उनले प्रत्येक सिलिन्डरको डिजिटल रेकर्ड राख्नुपर्ने सुझाव दिए ।
बैठकमा सांसदहरूले ग्यास सिलिन्डरको तथ्यांक संकलन गरी ट्रयाकिङ प्रणालीको व्यवस्था गरेका ग्यासको कृतिम अभाव नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । हालको वितरण प्रणाली, तथ्यांक व्यवस्थापन, अनुगमन सुस्त रहेको उनीहरूको भनाई छ । सरकारलाई तत्काल सुधारात्मक कदम चाल्न र दीर्घकालीन समाधानका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्न सांसदहरुले आग्रह गरेका छन् ।






