गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जंगलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।
पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, “तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।”
बुधबार बिहान ८ बजेदेखि उनीहरूको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेका थिए । जंगलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो ।
उनीहरूलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।






