काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैली, संसद्प्रतिको उत्तरदायित्व र नागरिकका दैनिक सरोकारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सांसद केसीले प्रधानमन्त्रीको वर्तमान राजनीतिक तथा प्रशासनिक कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारको नेतृत्व एक्लै अघि बढ्न खोजेको हो वा राजनीतिक रूपमा एक्लिँदै गएको हो भन्ने प्रश्न गरेका छन्।
देश र जनताको हितसँग सम्बन्धित विषयमा संसद् सरकारको सहकार्यका लागि तयार रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई संसद्लाई उपेक्षा नगर्न आग्रह गरे। संवैधानिक जिम्मेवारीलाई इच्छाअनुसार प्रयोग गर्ने विषय नबनाई संविधानले निर्धारण गरेको दायित्वअनुसार शासन सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
केसीले संवैधानिक निकायहरूको स्वायत्तता र प्रभावकारितामाथि समेत प्रश्न उठाए। ती संस्थाहरू कार्यपालिकाको प्रभावमा पर्ने अवस्था सिर्जना हुँदै गएको उनको आरोप थियो।
सरकारका कतिपय पहल सकारात्मक भए पनि तिनको कार्यान्वयनमा पर्याप्त विधि र प्रक्रिया पालना नभएको उनले बताए। लोकतान्त्रिक शासन व्यवस्थामा उपलब्धि हासिल गर्नु मात्र पर्याप्त नहुने भन्दै निर्णय र कार्यान्वयनको प्रक्रिया पनि लोकतान्त्रिक तथा विधिसम्मत हुनुपर्नेमा उनले जोड दिए।
सरकार गठन भएको सय दिनभित्र एक लाख युवालाई स्वदेश फर्काउने प्रतिबद्धता व्यक्त गरिएको भए पनि त्यसको कार्यान्वयनको अवस्था स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। उनले उक्त प्रतिबद्धताको प्रगति र परिणामबारे सरकारसँग जवाफ मागे।
सांसद केसीले विद्युत् आपूर्ति, राहदानी प्राप्त गर्न सेवाग्राहीले व्यहोर्नुपरेको लामो प्रतीक्षा, भूमिहीन तथा सुकुम्वासीको समस्या र बेरोजगारीजस्ता नागरिकका प्रत्यक्ष सरोकारका विषयलाई पनि सरकारको प्राथमिकतामा राख्न आग्रह गरे।
उनका अनुसार शासन सञ्चालनमा नीतिगत स्पष्टता, संवैधानिक जबाफदेहिता र नागरिकका आधारभूत समस्याको व्यावहारिक समाधानबीच सन्तुलन कायम गर्नु आवश्यक छ।






