काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले वर्तमान सरकारले सुधार र परिवर्तनका उद्देश्यसहित काम गरिरहेको दाबी गर्दै त्यसैकारण सरकारमाथि आलोचना पनि बढी भइरहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सांसद पराजुलीले परिणाममुखी काम गर्न खोज्ने नेतृत्व स्वाभाविक रूपमा आलोचनाको घेरामा पर्ने बताए। प्रधानमन्त्रीले मुलुकको अवस्था परिवर्तन गर्ने उद्देश्यसहित निरन्तर काम गरिरहेको उनको भनाइ थियो।
पराजुलीले प्रधानमन्त्रीको सक्रियतासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पनि जनताका समस्या प्रत्यक्ष बुझ्ने गरी काम गरिरहेको उल्लेख गरे। मन्त्री लम्साल आफैँ सवारी चलाएर विभिन्न स्थानमा पुग्ने गरेको बताउँदै उनले त्यस्ता भ्रमण औपचारिक कार्यक्रम वा उद्घाटनमा सीमित नरहेको दाबी गरे।
सरकारका कामको मूल्यांकन गर्दा सकारात्मक पहललाई सहयोग र कमजोरीलाई आलोचनात्मक रूपमा उठाउन विपक्षी दल तथा सरोकारवालालाई सांसद पराजुलीले आग्रह गरे।
सरकारका हरेक कामको विरोधभन्दा पनि गलत कार्यको तथ्यगत रूपमा विरोध गर्ने र जनहितमा भएका प्रयासमा सहकार्य गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उनको भनाइ थियो।






