काठमाडौँ । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले बुधवार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विद्युतीय अपराध, लागू औषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहसम्बन्धी मुद्दाका प्रतिवादी छन्।
पक्राउ परेका १३ जनामाथि अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको छ।
विद्युतीय अपराध मुद्दामा २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, लागू औषध मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना र बिगो मुद्दामा २ वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, चोरीसम्बन्धी कसुरमा १ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, अभद्र व्यवहारमा २ महिना तथा बहुविवाह मुद्दामा १ वर्ष २ दिन कैद सजाय अदालतले सुनाएको थियो।
कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा भने अदालतको फैसलाअनुसार विभिन्न रकम जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



