काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधनलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा सार्वजनिक प्रगति विवरणअनुसार एक महिनामा दर्ता ७४ वटा सानाठूला आपराधिक घटनामध्ये ४१ मुद्दाको फर्छ्योट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको छ । यस अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ प्रतिवादीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जनाकारी दिए। उनका अनुसार काभ्रेपलाञ्चोकमा केही महिनादेखि आर्थिक–वित्तीय अपराधको ग्राफ बढ्दै गएको पाइएको छ ।
कार्यालयमा दर्ता भएका मुद्दामध्ये अधिकांश (१८ वटा) बैंकिङ कारोबारका छन् । यसबाहेक साधारण चोरी, मोटरसाइकल तथा चौपाया चोरीका १२ मुद्दा दर्ता भएका हुन् । यस्तै सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र बोक्सीको आरोपसम्बन्धी मुद्दा, जबरजस्ती करणी तथा करणी उद्योगका गम्भीर मुद्दा दर्ता भएको छ । विभिन्न मितिमा सवारी ज्यान मुद्दामा फरार रहेका २० फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।
गत साउनमा प्रहरीले एक वर्ष चार महिना १५ दिनको कैद सजाय कार्यान्वयन गर्नुका साथै रु २९ लाख ६९ हजार ९०० जरिवाना असुल गरेको छ । यसैगरी सडक सुरक्षा तथा अवैध धन्दा रोक्न प्रहरीले ६५९ सवारीसाधनलाई कारबाही गरी रु छ लाख एक हजार ५०० राजस्व संकलन गरेको छ ।
नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट रु तीन लाख १७ हजार राजस्व दाखिला गराएको जनाइएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ भट्टी नष्ट गर्दै एक हजार ३९८ लिटर अवैध घरेलु मदिरा तथा तीन हजार ३५ लिटर कच्चा पदार्थसमेत जफत गरेको छ ।
आपराधिक घटना न्यूनीकरण गर्न काभ्रेपलाञ्चोक प्रहरीद्वारा सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट १९ हजार ९१३ नागरिकलाई सचेतना गराइएको विष्टको भनाइ छ ।
उनका अनुसार नागरिकको धनजनको सुरक्षार्थ गस्ती, सरप्राइज चेकिङ तथा प्रविधिको प्रयोगलाई अझ कडाइका साथ अघि बढाइएको छ ।






