काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। नवनियुक्त पदाधिकारीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्रीलाई शपथ गराएका हुन्। दुई राज्यमन्त्रीलाई भने मुख्यमन्त्री खगराज भट्टले शपथ गराएका छन्।
मुख्यमन्त्री भट्टले नेकपाका प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारुलाई मन्त्री नियुक्त गरेका छन्। सोही दलका जानकी कुँवर र इन्दिरा गिरी राज्यमन्त्री नियुक्त भएका छन्।
कार्यविभाजनअनुसार रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारुलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
राज्यमन्त्री कुँवरलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गिरीलाई वन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
गत २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास तथा दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।
एमालेबाटै जानकी बम ऐर यसअघि आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी थिइन्। शुक्रबार तीन मन्त्री र दुई राज्यमन्त्री थपिएपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ण आकार पाएको हो।






