काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन् ।
शनिवार पार्टीद्वारा काठमाडौँमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाएका हुन् । अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गरे । बजेटले आम नागरिकमा आशा जगाउन नसकेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पारे ।
राज्यको उत्पत्ति र सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठाबाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने बताए । यदि राज्यले महिला र विपन्न नागरिकको सुरक्षा तथा संरक्षण गर्न सक्दैन भने त्यस्तो राज्यको औचित्यमाथि प्रश्न उठ्ने उनको तर्क छ । १५ औँ–१६औँ शताब्दीको प्रबुद्ध युगदेखि परिकल्पना गरिएको न्यायपूर्ण राज्य निर्माणका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने आवश्यकता उनले औँल्याए।
अध्यक्ष परियारले भने, ‘हाकाहाक्की यो बजेट वामपन्थीहरूको होइन भनिरहेका छन् । यो बजेट गरिबहरूको होइन भन्ने महसुस भएको बेला तपाईँ भाग्ने ? हामी भाग्ने ? हामी भाग्दैनौँ । हामीले गर्ने आन्दोलन र राजनीति गरिब, निमुखा र कमजोरहरूकै लागि हो । राज्य किन बनायौँ ? राज्य किन चाहियो ? आज एउटी महिलाको संरक्षण हुन सक्दैन भने त्यो राज्यसँग सम्झौता गरेर किन बस्ने ? एउटा गरिबको संरक्षण हुन सक्दैन, गरिबले मर्नुपर्छ भने यो राज्यमा किन बस्ने ? अर्थात्, सामाजिक करारको सिद्धान्तअनुसार राज्य हामीले बनाएको नै नागरिकको संरक्षणका लागि हो । होइन भने राज्य दादागिरी गर्ने, षड्यन्त्रकारी र हिंस्रकहरूकै हो भन्नुपर्यो । होइन भने १५–१६ औँ शताब्दीको प्रबुद्ध युगदेखि बहस र छलफल गर्दै आएको राज्य त यो होइन होला नि ! हामीले त्यही राज्य निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ ।’
प्रगतिशील लोकतान्त्रिक पार्टीले युवाहरूलाई राजनीतिक रूपमा सचेत र वैचारिक रूपमा सबल बनाउने उद्देश्यले उक्त प्रशिक्षण भेलाको आयोजना गरेको हो । सो अवसरमा अध्यक्ष परियारले समतामूलक समाज निर्माणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।






