काठमाडौँ । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
मंगलवार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द साह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मागेकी थिइन् । तत्पश्चात्, राष्ट्रिय सभाका अध्यक्षले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरियो । राष्ट्रिय सभाको अर्को बैठक आगामी २०८३ साल भदौ १६ गते मंगलवार अपराह्न १:१५ बजे बस्ने गरी स्थगित भएको छ ।






