काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।
जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसै कारण इस्लाम धर्मावलम्बी जीवनमा एक पटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।
इस्लाम धर्ममा महत्त्वपूर्ण योगदान गरेकाले उनीको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज र्याली, सभालगायत कार्यक्रम गरिँदै छ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।






