काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका-५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश संकटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे ।
उनले भने, “पहाडमा संकट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो । आज पनि तराई मधेसको सहयोग अतुलनीय छ ।”
शुक्रबारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया-७ फूलबरियास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत चारवटा भवन निर्माण गरिएका हुन् ।






