काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा पछिल्लो समय इबोला भाइरसको संक्रमण दरमा केही कमी देखिए पनि महामारी उत्कर्षमा पुगेर नियन्त्रणतर्फ गइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।
कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थान (आईएनएसपी)का वरिष्ठ अधिकारी क्रिस्टियन न्गान्दुले राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा महामारीको अघिल्लो चरणको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितको कुल सङ्ख्या घटेको जानकारी दिए। उनले महामारी विज्ञानसम्बन्धी तथ्यांक विश्लेषण गर्दा सङ्क्रमणको प्रवृत्ति घट्दो देखिए पनि यसै आधारमा मात्र ढुक्क हुन नसकिने स्पष्ट पारे ।
न्गान्दुले भने, ‘हामीले यसलाई केवल एउटा घट्दो प्रवृत्तिका रूपमा मात्र लिएका छौँ र समयसँगै यसको सूक्ष्म मूल्यांकन आवश्यक छ । प्रभावकारी नतिजा हासिल गर्न हामीले नियन्त्रणका प्रयासहरूलाई निरन्तरता दिनुपर्छ: यदि हामीले प्रयास खुकुलो बनायौँ भने सङ्क्रमण पुनः तीव्र रूपमा फैलिन सक्छ ।’
सार्वजनिक पछिल्लो आधिकारिक तथ्यांक अनुसार कंगोमा सेप्टेम्बर ८ सम्म ६ हजार ८ सय ४३ जनामा इबोला सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ३ हजार ३ सय १० जनाको ज्यान गएको छ भने १ हजार ६ सय ११ जना उपचारपछि निको भएका छन् । हाल यस महामारीको मृत्युदर ४८.४ प्रतिशत पुगेको छ । महामारीलाई नियन्त्रणमा ल्याउन कंगो सरकारले हाल १८० दिने अद्यावधिक प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको छ ।
यसअन्तर्गत समुदायस्तरको निगरानी, कन्ट्याक्ट ट्रेसिङ, रोकथाम र उच्च जोखिमयुक्त क्षेत्रहरूमा स्वास्थ्य पूर्वतयारीलाई उच्च प्राथमिकता दिइएको छ । सबै सरोकारवालाहरूको सहकार्यमा १८० दिनभित्र महामारी पूर्ण नियन्त्रणमा आउने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन् ।
गत मे महिनामा घोषणा गरिएको यो प्रकोप कंगोको इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो र घातक महामारी बनेको छ । साथै, सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोपका रूपमा दर्ज भएको छ ।






