काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम जाने भएका छन् । पार्टीको मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार लामिछाने र उनकी पत्नी निकिता पौडेल कात्तिक २८ देखि ३० गतेसम्म जनकपुरधाममा हुने कार्यक्रममा सहभागी हुनेछन् ।
शनिबार दिउँसो १ बजे लामिछानेले जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म उनले पार्टीका विभिन्न तहका पदाधिकारीसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ । साँझ छठको खरना पूजा तथा अन्य तयारीमा सहभागी हुने तालिका छ ।
आइतबार बिहान जानकी मन्दिर, जलेश्वरनाथ मन्दिर र धनुषाधाम मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा पोखरीहरूको अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि लामिछाने र पौडेल गंगासागरमा आयोजना हुने छठको पूजाअर्चनामा सहभागी हुनेछन् ।
सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी भएपछि उनीहरू दिउँसो जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने तालिका छ ।





