काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई थप द्वन्द्व र विद्रोहमा धकेल्ने नभई सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका हुन् । आइतबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले देशले १० वर्षे द्वन्द्वपछि गत वर्षको भदौ २३ र २४ गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षतिसमेत व्यहोरिसकेको भन्दै अब थप द्वन्द्व र विद्रोह धान्न सक्ने अवस्थामा नरहेको बताए । उनले कुनै समय राजाले राजनीतिक दललाई र कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरेको उल्लेख गर्दै निषेधको राजनीतिले मुलुकलाई कहाँ पुर्यायो भन्ने कुरा सबैले बुझिसकेको बताए ।
अब त्यस्तो राजनीति त्यागेर राष्ट्रिय सहमतिको माध्यमबाट देशलाई निकास दिनुपर्ने उनको भनाइ छ । लिङदेनले राष्ट्रिय सहमति कायम गरी देशमा शान्ति र स्थिरता स्थापना गर्नुपर्ने तथा आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्याउने अभियानमा सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । राष्ट्रिय एकता र सहमतिको पक्षमा आफूहरूले आवाज उठाइरहेकाले त्यसलाई विश्वसनीय बनाउन राप्रपा आफैँ बलियो र एकताबद्ध हुनुपर्नेमा पनि लिङदेनले जोड दिए । पार्टी कमजोर र विभाजित भएमा अरू राजनीतिक शक्ति र जनताले राप्रपामाथि विश्वास नगर्ने उनले बताए ।
अध्यक्ष लिङदेनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि भन्दै आएको छ कि देशले १० वर्षे द्वन्द्व व्यहोर्यो, त्यसपछि भदौ २३/२४ गतेको जुन विद्रोह र नोक्सानी व्यहोर्यो, अब त्यसले थप द्वन्द्व र विद्रोह व्यहोर्न सक्दैन मात्र होइन, अब देशले कुनै पनि प्रकारको निषेधको राजनीति व्यहोर्न सक्दैन । निषेधको राजनीति देशमा लामो समयसम्म चल्यो । कुनै बेला राजाले राजनीतिक दलहरूलाई निषेध गरे होला, कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरे होला, तर निषेधको राजनीतिले देशलाई कहाँ पुर्यायो हामी सबैलाई थाहा छ । त्यस कारण अब निषेधको राजनीति छोडेर सबै राजनीतिक शक्तिहरूदेखि राजासम्मको बिचमा एउटा राष्ट्रिय सहमति निर्माण गरेर देशलाई निकास दिने बेला आएको छ र अब सबै शक्तिहरूको बिचमा राष्ट्रिय सहमति निर्माण गरेर देशमा शान्ति, स्थिरता कायम गर्ने र देशलाई ५–१० वर्षभित्रमै दुनियाँका विकसित मुलुकहरूको दाँजोमा पुर्याउने यात्रामा सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँ जानुपर्छ । अब हामीलाई पर्खिने र फेरि पनि विभाजित हुने सुविधा र छुट छैन । त्यस कारण हामी निरन्तर रूपमा राष्ट्रिय सहमतिको पक्षमा छौँ र राष्ट्रिय सहमतिको कुरा गरिराखेका छौँ । हामीले कहाँ–कहाँ कमी–कमजोरी भयो त्यसलाई सच्याएर, आफू समेत सच्चिएर, मदेखि तलसम्मका सबै साथीहरू सच्चिएर अब नयाँ ढङ्गले जानुपर्छ । हामीले यो महाधिवेशनको बाटोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो र बदलियो भन्ने सन्देश आम जनतालाई दिनुपर्छ ।’
उनले पार्टीभित्र एकता कायम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विगतमा संगठन निर्माणका क्रममा अपनाइएका रणनीति र कार्यशैलीमा भएका कमजोरी सच्याउनुपर्ने बताए । आफूबाटै सुधार शुरु गर्नुपर्ने भन्दै उनले नेतृत्वदेखि तल्लो तहसम्मका सबै नेता–कार्यकर्ता सच्चिएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । लिङदेनले आगामी महाधिवेशनबाट राप्रपा सुध्रिएको र बदलिएको सन्देश आम जनतामाझ पुर्याउनुपर्ने बताए ।






