काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
मंगलबार साँझ लिखित वक्तव्य जारी गर्दै सभापति थापाले वडा तहबाट सुरु हुने अधिवेशन प्रक्रियामा कुनै अलमलमा नपर्न आग्रह गरेका हुन्।
‘२०८३ असोज १६ देखि १९ सम्म काठमाडौँमा सम्पन्न हुने नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि २०८३ असोज ३ र ४ गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन नेपाली काँग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछु,’ थापाले वक्तव्यमा भनेका छन्।
उनले १५औँ महाधिवेशन नेपालको संविधान, नेपाली काँग्रेसको विधान तथा प्रचलित कानुनबमोजिम हुन लागेको बताएका छन्।
पार्टीको बृहत्तर हितका लागि देशभित्र तथा बाहिर विभिन्न तहबाट निरन्तर चासो राख्ने, संवाद र सहमतिका लागि प्रयास गर्ने तथा अधिवेशन प्रक्रियामा सक्रिय रहने सदस्य, समर्थक एवं शुभेच्छुकप्रति थापाले आभारसमेत व्यक्त गरेका छन्।






