काठमाडौँ । जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम आजदेखि सुरु गरेको छ।
जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्ड अनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा सुरु भएको हो।
तालिमको पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। पहिलो समूहमा नारायणी अस्पताल, मधेश प्रदेश र प्रदेश अस्पताल, कर्णाली प्रदेशबाट चार–चार जना गरी आठ जना स्वास्थ्यकर्मी सहभागी छन्।
तालिममा शल्य चिकित्सक तथा सामान्य चिकित्सा विशेषज्ञ, शल्यकक्ष, सघन उपचार कक्ष तथा आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागी रहेको छ।
उनीहरूलाई जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउको मूल्यांकन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण, दुखाइ व्यवस्थापन तथा जलन उपचार कक्ष सञ्चालनलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइनेछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको २०८३ साउन ६ गतेको बैठकको निर्णय अनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।
तालिमपछि सम्बन्धित अस्पतालमै जलन उपचार कक्ष-वार्डको स्थापना, विस्तार तथा सुदृढीकरण गरी विशिष्टीकृत सेवा प्रवाह गर्न आवश्यक जनशक्ति तयार हुने अपेक्षा गरिएको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यसअघि आधारभूत जलन उपचारसम्बन्धी ११ समूहमा १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी २३ समूहमा ३६४ जनालाई तालिम प्रदान गरिसकेको छ।
विशेषज्ञ जनशक्ति विस्तारसँगै जलनका बिरामीलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्थालाई क्रमशः कम गर्दै सम्बन्धित अस्पतालबाटै विशिष्टीकृत जलन उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








