काठमाडौँ । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा समेत पर्ने भएकाले शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेको मौसमविद्ले बताएका छन्।
मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालका अनुसार उक्त प्रणाली शक्तिशाली बन्दै गएकाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गर्ने क्रममा छ। त्यसको प्रभावले आगामी तीन दिन वर्षाको मात्रा बढ्ने सम्भावना रहेको उनले बताएका हुन्।
बुधबार मौसमविद् ढकालले बिहीबारसम्म उक्त मौसमी प्रणाली भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने र त्यसको प्रभाव नेपालमा देखिने बताए।
उनका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना छ। बिहीबारको तुलनामा त्यसपछिका दिनमा वर्षाको मात्रा थप बढ्ने र विशेष गरी लुम्बिनी तथा गण्डकी प्रदेशमा बढी प्रभाव पर्ने पूर्वानुमान रहेको उनले बताए।
हाल गण्डकी प्रदेशदेखि पूर्वतर्फ सामान्यतया बादल लागेको तथा बागमती प्रदेश आसपास हल्का वर्षा भइरहेको अवस्थामा बिहीबार लुम्बिनी प्रदेशदेखि पूर्वतर्फका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना
मौसमविद् ढकालले न्यूनचापीय प्रणालीको प्रभाव उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत पर्ने भएकाले भारी हिमपातको सम्भावना रहेको बताएका छन्।
हाल पर्वतारोहणको याम चलिरहेकाले हिमाली क्षेत्रमा हुने पर्वतारोहण तथा अन्य गतिविधिमा मौसमले असर पार्न सक्ने भन्दै उनले सम्बन्धित सरोकारवालालाई सचेत रहन आग्रह गरेका छन्।
उनका अनुसार भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा रहेका तथा त्यससँग सम्बन्धित गतिविधिमा संलग्न व्यक्तिले मौसमको अवस्थालाई प्राथमिकतामा राखेर आवश्यक सावधानी अपनाउनुपर्नेछ।
पहिरो र बाढीको जोखिम बढ्न सक्ने
पछिल्ला केही दिन वर्षाको मात्रा घटेको अवस्थामा एक्कासि भारी वर्षा भए कमजोर भूभागमा पहिरोको जोखिम बढ्न सक्ने मौसमविद् ढकालले बताएका छन्।
भारी वर्षाका कारण नदी तथा खोलानालाको जलस्तर बढेर तल्लो तटीय क्षेत्रमा बाढीको जोखिमसमेत बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धानबाली भित्र्याउनेलगायत कृषि कार्यसमेत मौसमको अवस्था र विज्ञको सुझावका आधारमा गर्न उनले सुझाव दिएका छन्।
वर्षाको मापन
जल तथा मौसम विज्ञान विभागले १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी र १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गर्दै आएको छ।
आगामी दिनमा वर्षाको मात्रा बढ्न सक्ने पूर्वानुमान रहेकाले कमजोर भूभाग, नदी तथा खोलानाला आसपास र उच्च हिमाली क्षेत्रमा रहेका नागरिक तथा पर्यटकीय गतिविधिमा संलग्न व्यक्तिले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेरी आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।






