काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा असोज ८ देखि ११ गतेको भीषण बाढीले बागलुङमा मात्र १३ जनाको ज्यान गएको छ भने भौतिक संरचना ध्वस्त हुँदा हजारौँ नागरिक आधारभूत सेवाबाट वञ्चित भएका छन् । संसदको शून्य समयमा बोल्दै सांसद शर्माले प्राकृतिक विपत्तिबाट बागलुङ र म्याग्दीका विभिन्न पालिका नराम्ररी प्रभावित भएको बताइन् । विशेष गरी ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोट क्षेत्रमा बाढी र हावाहुरीले भौतिक संरचना पूर्ण रूपमा क्षति पुर्याएको छ । उनकाअनुसार सयौँ घर, गोठ र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।
विपत्तिपछि पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत्, खानेपानी र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् । सञ्चार सम्पर्क टुटेका कारण धेरै स्थान अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको सांसद शर्माले जानकारी गराइन् । स्थानीय स्तरमा दैनिक उपभोग्य वस्तुको अभाव चुलिएकाले जनजीवन कष्टकर बनेको छ ।
सांसद शर्माले भनिन्, ‘मध्य पहाडी लोक मार्गको लाइफलाइन मानिने मालढुंगाको पुलसमेत क्षतिग्रस्त छ। यातायात सञ्चालन गर्न नसक्दा राहत सामग्री पुर्याउन सकस भइरहेको छ ।’
उहाँले सरकारले भोटेकोशी बाढीको समयमा उपलब्ध गराएको जस्तै राहत प्याकेज बागलुङका लागि पनि घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । तत्काल सडक र सञ्चार पुनर्स्थापना गर्दै प्रभावितलाई राहत उपलब्ध गराउन उनले सरकारसँग माग गरिन्।



