काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले वर्तमान सरकारले गठन भएको पहिलो ६ महिनामै सुशासन र विकासका लागि आवश्यक आधार तयार गरेको दाबी गरेका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खत्रीले सरकारको काम नभएको भन्ने आलोचना सही नभएको जिकिर गरे। ठूला संरचना निर्माणका काम तत्कालै देखिन नसके पनि सरकारले दीर्घकालीन विकासका लागि आधार तयार गरिरहेको उनको भनाइ थियो।
उनले आफ्नो निर्वाचन क्षेत्र भक्तपुर-२ मा ९० करोड रुपैयाँभन्दा बढीको बजेटमार्फत सडक, पुल तथा सांस्कृतिक सम्पदा संरक्षणका काम अघि बढिरहेको जानकारी दिए।
सरकार गठन भएको ६ महिनाको अवधिमा भ्रष्टाचारसम्बन्धी कुनै ठूलो काण्ड नभएको दाबी गर्दै खत्रीले चालु वर्षलाई सुशासनको आधार तयार गर्ने वर्षका रूपमा लिनुपर्ने बताए।
सहकारी ठगी प्रकरणमा भने उनले एउटै व्यक्तिमा केन्द्रित नभई सबै आरोपितमाथि अनुसन्धान र कारबाही हुनुपर्ने धारणा राखे। प्रधानमन्त्री र सरकारले कसैलाई संरक्षण नगरेको दाबी गर्दै उनले रवि लामिछानेसँग सम्बन्धित कानुनी प्रक्रियालाई ‘कोर्स करेक्सन’ का रूपमा व्याख्या गरेका छन्।



