म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ ।
बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुंगासम्म सडक मर्मत भइसकेको जानकारी दिए।
“कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ”, उनले भने, “मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेका छन् ।
रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि स्थानीय स्तरमा उपलब्ध सडक विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीको उपकरण र मजदुर परिचालन गरिएको छ ।
असोज ११ गते कालीगण्डकी बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँच मार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क टुटेको छ ।
कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँग यातायात सम्पर्कबिच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन । दसैँका लागि भेडा च्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको छ ।पर्यटकीय गतिविधि ठप्प बनेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको साहरा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
कटिङ, फिलिङ, डाइभर्सन, नयाँ मार्ग खोल्ने विकल्प अपनाएर सडक खुलाउने प्रयास गरिएको छ । तिल्केनीचौरस्थित राहु घाट जलविद्युत् आयोजनाको विद्युत् गृह परिसरमा सडक खुलाउन चुनौती देखिएको छ । यसअघि सडक भएको ठाउँमा काली गण्डकीले कटान गरेर आयोजनाको स्वीचयार्ड नजिकैबाट नदी बगेको छ
सडक खुलाउनका लागि स्वीचयार्डका प्रयोगमा नरहेका वैकल्पिक रूपमा रहेका दुई वटा टावर हटाउनुपर्ने भएको छ । टावर हटाउनका लागि राहु घाटको प्रवर्द्धक रघुगंगा हाइड्रोपावरको सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । सडक मर्मतका लागि इन्धन आपूर्तिलाई पनि सहज बनाउने प्रयास गरिएको उनले बताए ।



