काठमाडौँ । सिरहाको सुखीपुरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। सुखीपुर नगरपालिका-१० स्थित विश्वकर्मा चोकबाट सशस्त्र प्रहरीको टोलीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा नियन्त्रणमा लिएको हो।
बुधबार राति सुरक्षा बेस गोल बजार र सुखीपुरको संयुक्त गस्ती टोलीले शंकास्पद रूपमा आउँदै गरेको एक थान बोलेरो गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो। प्रहरी टोलीलाई देख्नासाथ गाँजा छाडेर चालकहरू भने फरार भएका छन्। सशस्त्र प्रहरीका अनुसार सवारी साधन जाँच गर्ने क्रममा २६ वटा बोरामा प्याक गरी राखिएको उक्त परिमाणको गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजा, बोलेरो र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकाय (नेपाल प्रहरी)मा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।
प्रहरीले फरार चालक तथा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ।



