काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-८ बस्ने सोही महानगरपालिका-२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ गल्छी गाउँपालिका-३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।
प्रहरीका अनुसार गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा उनीहरूलाई शुक्रवार पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



