काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सडक र सदनबाट शान्तिपूर्ण संघर्षको तयारी गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संसदमा विषयगत तयारीसहित प्रभावकारी भूमिका निर्वाह गर्न र आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।
एमाले सङ्ख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण तिनको रक्षा गर्ने मुख्य दायित्व पार्टीको काँधमा रहेको ओलीको भनाइ थियो।
संसदमा तयारीसहित जनताका मुद्दा उठाउन आग्रह
प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले हरेक सांसदलाई विषयवस्तुको गहन अध्ययन गर्न, विज्ञहरूसँग छलफल गर्न र जनताका मुद्दा सशक्त रूपमा उठाउन निर्देशन दिएका छन्। उनले संसद्मा एमालेको उपस्थिति गुणात्मक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।
सरकारको भूमिकाप्रति बैठकको आलोचना
महरका अनुसार बैठकले सरकार लोकतन्त्र र संविधानको रक्षा तथा जनजीविकाका सवाल सम्बोधन गर्न चुकेको निष्कर्ष निकालेको छ। सरकार निरन्तर ‘फासीवादी, स्वेच्छाचारी एवं तानाशाही’ बाटोतर्फ अघि बढिरहेको बैठकको निष्कर्ष रहेको उनले बताएका छन्।
महरले सरकारले संसद्लाई सत्ताको छायामा पारेको र जनमतको उपेक्षा गरेको आरोपसमेत लगाएका छन्। संसद्लाई एक प्रकारको कठपुतली बनाउन खोजिएको उनको भनाइ छ।



