काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वैचारिक जग र आदर्श कायम राख्दै कार्यशैली, व्यवहार र संस्कारमा परिवर्तन गर्नुपर्ने बताएका छन्। काँग्रेसलाई चुनाव जित्ने र पद प्राप्त गर्ने गतिविधिमा सीमित नगरी नागरिकको दुःखमा साथ दिने संगठन बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको पार्टीको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले बिपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका मूल्यलाई निरन्तरता दिँदै पार्टी बदल्नुपर्नेमा जोड दिएका छन्।
‘हामी बदलिन आएका छौँ । बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, बिपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो,’ उनले भनेका छन्।
वडा तहसम्म पुगेर जनतासँग जोडिन निर्देशन
थापाले संगठनको अर्थ पार्टी कार्यालय र अधिवेशनमा मात्र सीमित नहुने बताएका छन्। किसान, युवा, अल्पसङ्ख्यक तथा अप्ठ्यारोमा परेका नागरिकले खोज्दा साथमा उभिन सक्नु नै काँग्रेस हुनुको वास्तविक अर्थ भएको उनको भनाइ छ।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई वडा तहसम्म पुगेर जनतासँगको सम्बन्ध बलियो बनाउन निर्देशन दिएका छन्।
‘महाधिवेशन सकिएपछि फोटो खिचेर फर्किने होइन । प्रत्येक प्रतिनिधि वडा–वडामा पुगेर संगठनलाई जनतासँग जोड्नुपर्छ,’ उनले भनेका छन्।
पार्टी छाडेकालाई फेरि जोड्ने प्रतिबद्धता
थापाले काँग्रेस छाडेका नेता तथा कार्यकर्ताको मनमा पार्टीको व्यवहारबाट चोट पुगेको स्वीकार गरेका छन्। उनीहरूलाई फेरि पार्टीसँग जोड्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
‘तपाईँहरूले काँग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण काँग्रेसले तपाईँहरूलाई छोडेको हो,’ उनले भनेका छन्, ‘अब काँग्रेस फेरि तपाईँहरूलाई जोड्न आउनेछ ।’
पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिबारे थापाले सम्मानका लागि कुर्सी खाली राखिएको तर उनी उपस्थित नभएको बताएका छन्। देउवाप्रतिको सम्मान पार्टीलाई थप बलियो र फराकिलो बनाएर व्यक्त गर्नुपर्ने उनको भनाइ छ।
थापाले महाधिवेशनबाट पारित हुने कार्यदिशाले काँग्रेसलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्दै नागरिकसँग अझ गहिरो सम्बन्ध भएको पार्टी बनाउने संकल्प गर्न आग्रह गरेका छन्।



