काठमाडौँ । नेपाली काँग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण सुरु भइसकेको छ। उम्मेदवारी दर्ता भने दिउँसो १२: ३० बजेदेखि ४ बजेसम्म गर्न पाइनेछ।
त्यस्तै, बिहान ९:३० बजेसम्म मतदाता नामावलीमा दाबी विरोधको समय तोकिएको थियो। प्राप्त उजुरीहरूमाथि बिहान १०स्३० बजेसम्म जाँचबुझ गरी बिहान ११: ३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
मनोनयन दर्ताको फारम १० बजेदेखि नै वितरण सुरु हुने भए पनि उम्मेदवारी मनोनयन दर्ता भने १२:३० देखि ४ बजेसम्म तोकिएको छ । संशोधित विधानमा केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुने भएको छ ।
विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् ।
कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।
दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेशीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् । जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् ।
त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ।



