काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सबै नेता पदाधिकारी बन्ने प्रतिस्पर्धामा केन्द्रित हुँदा पार्टीमा लामो समय योगदान गरेका व्यक्तिहरू केन्द्रीय समितिबाहिर रहन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले योगदान गरेका नेताहरूलाई पार्टीका विभिन्न संरचनामा समेटेर अघि बढाउने बताएका छन्। एउटै पदमा धेरै जनाको उम्मेदवारीले नेतृत्व व्यवस्थापनमा कठिनाइ आउन सक्ने उनको भनाइ छ।
‘सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो। हामी सबैलाई मिलाएर लिएर जान चाहन्छु। त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ,’ थापाले भनेका छन्।
उनले उम्मेदवारी दिन पाउने नेताहरूको अधिकार रोक्न नसकिने स्पष्ट पार्दै आफ्नो आग्रह पार्टी सञ्चालनमा सबैको योगदान सुनिश्चित गर्ने उद्देश्यले आएको बताएका छन्।
स्थानीय तहमा प्रमुख, उपप्रमुख वा प्रदेशसभा सदस्य बन्न चाहने नेताहरूलाई पनि थापाले केन्द्रीय सदस्यको प्रतिस्पर्धामा जानुअघि आफ्नो राजनीतिक योजनाबारे विचार गर्न सुझाव दिएका छन्। आन्तरिक निर्वाचनको परिणाम र निर्वाचित भएपछि निर्वाह गर्ने भूमिकाले आगामी राजनीतिक अवसरमा असर पार्न सक्ने उनको भनाइ छ।
पार्टीको संरचनामा जिल्ला र पालिका तहलाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै उनले प्रदेश तथा जिल्लामा बसेर पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सकिने बताएका छन्।
थापाले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत समान प्रतिस्पर्धाको अवसर दिन पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको स्पष्ट पारेका छन्। पार्टी सञ्चालनमा संलग्न भएका र विशेष महाधिवेशनमा सहभागी नभएका नेताबीच प्रतिस्पर्धाको वातावरण असमान भएको अनुभूति नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको उनको भनाइ छ।
उनले क्रियाशील सदस्यता अद्यावधिकको विषय पनि पार्टीभित्र विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यसँग जोडिएको बताएका छन्।



