काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
प्रचारप्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफू स्वयंले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनले क्लस्टरतर्फ १५ जना उम्मेदवारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
अबको केही समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको प्रवक्ता चालिसेले जानकारी दिए । उनले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि बिहीवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए ।
महाधिवेशनमा सहभागी ७ हजार बढी प्रतिनिधिले पार्टीको अगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उनका अनुसार मतदानका लागि काठमाडौँका ३ स्थानमा ७ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले जानकारी दिए। राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको उनले जानकारी दिए ।
उनले भने, ‘आज महाधिवेशनको बन्द सत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पारित भएको छ । यसका अतिरिक्त अब हाम्रो पार्टी विशेष गरेर आगामी चार वर्षको लागि हिँड्ने राजमार्ग समेत ती प्रतिवेदनहरूले तय गरेका छन् । त्यसबाहेक निर्वाचन समितिले आफ्नो कार्यतालिका प्रकाशित गरिसकेको छ । अब मतदानमा जानुभन्दा अगाडि जति पनि इच्छुक उम्मेदवार साथीहरू हुनुहुन्थ्यो, लगभग ७७ सय प्रतिनिधिहरूको बिचमा ठुलो संख्यामा उम्मेदवारहरूले आफ्नो इच्छा जाहेर गर्नुभयो । त्यसलाई पार्टीले सकारात्मक रूपमा लिएको छ । हजारौँको संख्यामा युवाहरू प्रतिस्पर्धामा आउनुभएको छ । पार्टीको जिम्मेवारीको बोझ आफ्नो काँधमा बोक्नको लागि युवा पुस्ता अब तयार भइसकेको सन्देश यस पटकको सहभागिताले स्पष्ट गरेको छ । केही साथीहरूले उम्मेदवारी फिर्ता लिनुभएको छ । पदाधिकारीमा विशेष गरेर सभापतिमा उम्मेदवार दिनुभएको किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको यसभन्दा अगाडि समाचार प्रकाशित भइसकेको छ । त्यसै गरेर उपसभापतिका उम्मेदवारमा मिलेन्द्र रिजाल म आफैँले पनि आफ्नो उम्मेदवारी सभापतिको आग्रहबमोजिम फिर्ता लिइसकेको अवस्था हो । यसका अतिरिक्त लगभग ४० जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । क्लस्टरमा १५ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । अबको केही समयमा अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ । भोलि मतदान ९ बजेबाट निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी रहेको छ । मतदानको कार्यक्रम खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी तीन ठाउँमा हुन्छ । विभिन्न क्षेत्रबाट आउनुभएका साथीहरू विशेष गरी प्रदेश र विदेशस्थित जनसम्पर्क समिति, शुभेच्छुक संस्थाहरू, भातृ संस्थाहरूबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिका हिसाबले तीन ठाउँबाट मतदानको व्यवस्था मिलाएका हौँ ।’
उनले महाधिवेशनको उत्साह र उम्मेदवारीले नयाँ पुस्ता नेपाली काँग्रेसको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएको उनको भनाइ छ ।



